बुटवलमा बन्यो अत्याधुनिक सम्मेलन केन्द्र, यस्ता छन्  विशेषता

 भदौ ११, २०७९ शनिबार १४:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगर बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी हुनुहुन्थ्यो । ९ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएकाे सम्मेलन केन्द्रमा रङरोगन, विद्युत्, साउन्ड सिस्टम, सीसीटीभी जडानलगायतका काम सकिएको छ ।

१ अर्ब ११ करोड रुपैयाँ लागतमा सहरी विकास मन्त्रालयले बनाएको सम्मेलन केन्द्रमा मुख्य सभा हलसहित झण्डै २ हजार जना मानिस अट्ने १३ वटा हल छन् । सबैभन्दा ठूलो र मूख्य हल गौतमबुद्धमा एक हजार जना मानिस अट्छन् । आधुनिक किसिमले बनाइएका हललाई आकर्षक किसिमले सिंगारिएको छ । अत्याधुनिक सम्मेलन केन्द्र निर्माण भइसकेकाले अब बुटवलमै अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन गर्न सकिनेछ । केन्द्रभित्रै दुईतले भवनमा व्यावसायिक क्षेत्र, रेस्टुरेन्ट, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । कर्मचारीका लागि तीन तलाको छुट्टै आवास गृह छ । सम्मेलन केन्द्रबाहिर बनाइएका आकर्षक पोखरीमा चन्द्रसूर्य आकारका फोहोरा निस्कन्छन् । सम्मेलन केन्द्रबाहिर रहेको पार्किङमा ४ सय वटा चारपांग्रे र ४ सय वटा दुई पांग्रे गरी ८ सय वटा गाडी पार्किङ गर्न सकिन्छ ।

पाँच वर्षमा निर्माण सक्ने गरी २०७१ माघ १५ मा काम सुरु भए पनि सम्मेलन केन्द्रको निर्माण २०७८ सालमा मात्रै सम्पन्न भएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो । सम्मेलन केन्द्र निर्माण सम्पन्न भए पनि अहिलेसम्म कस्ले र कसरी सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन । 

तस्बिर साभार : पूर्व अर्थमन्त्री विष्णुप्रसाद पाैडेलकाे फेसबुकबाट
 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया