पर्यावरण जाेगाउन तीजको अवसरमा 'बनसँग सेलिब्रेटी' कार्यक्रम

 भदौ ११, २०७९ शनिबार १७:२६:१५ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पूर्वमा बनसँग सेलिब्रेटी कार्यक्रम हुने भएको छ । डिभिजन बन कार्यालय रुकुम पूर्वले हरितालिका तीज पर्वको अवसर पारेर भदौ १४ गते बनसँग सेलिब्रेटी बन कार्यक्रम गर्न लागेको हो ।

डिभिजन बन कार्यालयका प्रमुख जितेन्द्रका खड्काका अनुसार तीज गीत मार्फत बन, वातावरण र बन्यजन्तु सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ तीजकै दिन बनसँग सेलिब्रेटी कार्यक्रम राखिएको हो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सचेतना फैलाउन उक्त कार्यक्रम गरिएको हो । चाडपर्वमा हुने सांस्कृतिक प्रस्तुतिलाई सन्देशमूलक बनाउन पनि आवश्यक रहेकोले बनसँग सेलिब्रेटी कार्यक्रम राखिएको खड्काले जानकारी दिनुभयो । 

रुकुम पूर्व बन र बन्यजन्तुको राम्रो सम्भाबना बोकेको जिल्ला भएकोले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको डिभिजन बन कार्यालयका रेन्जर विश्व केसीले बताउनुभयो । सबै दिदीबहिनीहरु कलाकारहरुको साथमा एकै ठाउँमा जम्मा गरेर सन्देशमूलक सांस्कृतिक प्रस्तुति गर्ने तयारी गरिएको केसीले बताउनुभयो ।

कार्यालयले जिल्लाको सिस्ने गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, सामुदायिक बन उपभोक्ता महासंघ र न्यु अमर छापाखाना रुकुम पूर्वको समन्वय तथा सहयोगमा कार्यक्रम आयाेजना गर्न लागेको जनाएको छ । कार्यक्रममा कलाकारहरु पूर्णचन्द्र परियार, सम्झना रणपाल, दिपक भण्डारी, मन्जु भट्टराई र टंक संगीतको प्रस्तुती रहने छ । कार्यक्रम जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको प्राङ्गणमा हुने जनाइएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया