उच्च शिक्षालाई योभन्दा माथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित छाैँ : मन्त्री पाैडेल

 भदौ १७, २०७९ शुक्रबार १३:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । 

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शङ्करदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विश्वविद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने उहाँकाे भनाइ थियाे । 

मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्नेबारेमा विज्ञहरूसँग मन्त्रालयले छलफल गरिरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नेपालमा उच्च शिक्षालाई योभन्दा माथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ । विदेशमा विद्यार्थी जाने लहर चलेको छ । सरकार शिक्षा मन्त्रालय गम्भीर छ । रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा । हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटि हो । अरू देशका विद्यार्थीलाई पनि आकर्षित गर्नुपर्छ । शिक्षाविना केही राम्रो हुँदैन । शिक्षा सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक छ । विश्वविद्यालयमा ताला नलगाऔँ, विश्वविद्यालय तालामुक्त बनाऔँ र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन् तर त्यसलाई समाधान गरौँ ।’

कार्यक्रममा बाेल्दै मन्त्री पाैडेलले शङ्करदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक ठाउँ उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । शैक्षिक संस्थाहरूको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया