परदेशीका श्रीमती : मान विनाको भुक्तमान, लाञ्छना र अपमान

 भदौ १९, २०७९ आइतबार १४:२८:४२ | सन्जिता देवकोटा
unn.prixa.net

श्रीमान् परदेश लागेपछि कमाएर पठाउँछन् श्रीमतीलाई कति ढुक्क छ भन्ने आम बुझाइ छ । तर श्रीमानको अनुपस्थितिमा एक्लै घर परिवार र बालबच्चा धान्न आफैँमा सजिलो काम होइन । त्यसमाथि श्रीमान् परदेशमा भएकै कारण परदेशीका श्रीमतीहरू आफ्नै परिवार र गाउँ समाजबाट सहयोगको साटो अवहेलना र लाञ्छना भोग्न बाध्य छन् ।

काठमाण्डौ – बागलुङकी  देवीको मन दु:खले भरिन थालेको वर्षौ भैसकेको थियो । तर, २०७७ को अन्तिमतिर मनले शरीर त्याग्ने नै निश्चय गर्‍यो । घर वरिपरि नजिकै मर्ने प्रयास गर्दा बालबच्चा र गाउँ समाजले बचाउँछन् भन्ठानेर देवी घाँस काट्ने बहानामा मर्नकै लागि जङ्गल जाने निधो गर्नुभयो । हातमा डोरी बोक्नुभयो र लाग्नुभयो जङ्गलतिर । 

‘जान त म रुखमा झुण्डिने सोच बनाएर गएको थिएँ, तर जङ्गल पुगेपछि रुख मुनी बसेर  बेस्सरी रोएँ, निकै बेर रोएपछि भने ओहो म त मर्नु हुँदैन भन्यो मनले’ देवी भन्नुहुन्छ ‘रोएपछि छोराछोरी आँखै भरी आए, म मरेर मलाई दुःख दिनेहरूलाई सहज किन बनाउनु मरे पनि तिनीहरूसँगै लडेर मर्छु भन्ने सोचेर फेरि फर्किएँ ।’ 

अहिले २८ वर्षमा हिँड्दै गरेकी देवीले आफ्नो जीवन आफैँ सिद्ध्याउने बाटो रोज्नुको एकै कारण हो श्रीमान् परदेशी भएकै कारण परिवारले गरेको अवहेलना । 

२०६७ सालमा देवीको १६ वर्षको उमेरमा मागी विवाह भएको थियो । कल्पना त देवीले पनि बिहेपछि सुखी र खुसी जीवनकै गर्नु भएको थियो । तर नसोचेकै भइदियो । बिहे भएको करिब एक सातापछि श्रीमानको पहिला पनि बिहे भइसकेको कुरा थाहा पाउनुभयो । 

देवी भन्नुहुन्छ ‘पहिला पनि बिहे गर्नुभएको रहेछ, तर परिवारले कुटपिट गर्ने, उहाँ विदेशमा भएको बेलामा धेरै नै नराम्रो व्यवहार गरेपछि ऊ भागेकी रैछ ।’ बिहे पहिले नै यस्ता कुरा जानेको भए आज पनि बिहे गर्दिनथे भन्ने भाव मनमा पलाउँछ देवीको । तर नहुनु पर्ने कुरा भइसक्यो । पछुतो मानेर पनि विगतलाई फर्काउन सकिँदैन । त्यसैले, देवीले पनि बर्तमानलाई स्विकार्ने अठोट लिनुभयो त्यो बेला । 

बिहे भएको ३ महिनामा मात्रै भएको थियो । रोजगारीका लागि २०६७ सालमा श्रीमान् बहराइन लागेपछि श्रीमान् देवी संयुक्त परिवारमा नै बस्नुभयो । घरमा देउरानी, उनका दुई बालबच्चा र उमेरले ५५ नाघेका ससुरासहितको संयुक्त परिवार थियो । देवर पनि वैदेशिक रोजगारीमै थिए । परिवारमा बिस्तारै कलह बढ्दै गयो । 

‘उहाँ नहुँदा घरमा दिनहुँजस्तो झगडा पर्न थाल्यो, मभन्दा पहिला नै देउरानीको बिहे भइसकेको थियो, उसलाई घर व्यवहार धेरै कुरा थाहा थियो, तर उसले मलाई गर्ने व्यवहार सहनै नसक्ने खालको हुन थाल्यो’ देवी भन्नुहुन्छ ‘दिनरात झगडा हुन थालेपछि म बरु एक्लै बस्छु भनेर छुट्टै बस्न थालेँ ।’ 

देवीले त आआफ्नो व्यवहार गरिखाँदा घर झगडा कम होला भन्ने सोच्नु भएको थियो । तर छुट्टै गरेर खादा पनि अपमान र दुर्व्यवहार रोकिएन । झगडाले कुटाकुटसम्मको रूप लिन थाल्यो । देउरानी र देवीबीच बेला बेला झगडा र हात हालाहाल भइरह्यो ।

तीन वर्षपछि श्रीमान् स्वदेश फर्किए । करिब दुई वर्ष साथैमा बसेँ । त्यो अवधिमा जेठी छोरी जन्मिइन । श्रीमान् हुँदा केही आड भरोसा मिलेको थियो देवीलाई । देउरानी र ससुराले पनि उति सारो नराम्रो व्यवहार गरेनन् श्रीमान् साथमा हुँदा । तर छोरी जन्मिएको करिब पाँच महिनापछि श्रीमान् फेरि रोजगारीका लागि साउदी गए । श्रीमान् परदेश लागेपछि फेरि पुरानै व्यवहार दोहोरियो परिवारबाट । 

करिब साढे ३ वर्षको अवधिमा ७ पटकसम्म देवीले आफूले आफैँलाई मार्ने प्रयास गर्नुभयो । तर कहिले छिमेकीले बचाए त कहिले आफ्नै मनले मर्न हुँदैन भन्ठान्यो । कहिले ३ छोराछोरीको मायाले बचायो त कहिले आफूलाई दुःख दिनेका लागि भए पनि बाच्छु भन्ने अठोटले देवीलाई आफ्नासँगको लडाइ लड्न जीवित राख्यो ।

‘उहाँ गएपछि देउरानी र ससुराले मलाई पटक पटक विभिन्न बहानामा कुटपिट गर्नुभयो, कहिले ससुरासँग बात लगाउने त कहिले के भन्ने, यस्तै यस्तै कारणले मेरो दिमागले कामै नगर्नेसम्मको अवस्था भयो’ देवी भन्नुहुन्छ ‘आफूलाई साथ दिने लोग्ने साथमा नभएपछि गाउँ समाजले पनि साथ नदिँदा रहेछन्, अत्याचार सहेर बाँच्नुभन्दा मलाई मर्नु उपयुक्त लाग्थ्यो ।’

ससुरासँग बोलचाल गर्दा देउरानीले देवीलाई लाञ्छना लगाउन थालिन । त्यसको प्रतिवाद गर्दा झन् ठूलो झगडा भयो । ससुराले देवीको साथ दिएनन् । उल्टो देउरानीसँग नै मिलेर देवीमाथि खनिए ।

‘ससुरासँग बोल्न नहुने, बोल्यो भने देउरानीले आरोप लगाउने किन यसो भन्छेस् भन्दा उल्टो ससुरा र देउरानी नै कुट्न आउने, कति पटक कुटाई खाएँ खाएँ हिसाब नै छैन’ देवी भन्नुहुन्छ ।

परिवारभन्दा टाढा गएर कतै बसौँ न त भन्दा पनि ठाउँ थिएन । माइती पनि कति बस्नु । बिहे गरेर बालबच्चा भइसकेपछि देवीलाई माइतीसँग दुःख बिसाउन मन लागेन । घरमा पनि चुलो बल्ने विदेशकै कमाइले हो । देवर र देवीका श्रीमान् मिलेर परदेशमा कमाएकै पैसाले अलिअलि खेतबारी त जोडेका थिए । तर भागमा परेका जमिनको उब्जनीले १२ महिना धान्दैनथ्यो । 

परिवारले गरेको अवहेलना र कुटपिटबारे परदेशी श्रीमानलाई नसुनाएको पनि हैन देवीले । तर श्रीमानले पनि देवीको कुरा सुन्न चाहेनन् । बरु देवीलाई नै पटक पटक दोषी देखाए । श्रीमानले आफ्नो भोगाइ नबुझ्दिँदा भने झन् पीडा हुन्छ देवीलाई । 

परिवारसँगको बेमेल र श्रीमानको पनि असहयोग हुँदा देवीलाई बिस्तारै मर्न पाए पनि हुन्थ्यो भन्ने सोच आउन थाल्यो दिमागमा । खान मन नलाग्ने, केही काम हातमा नआउने, जीवनदेखि नै दिक्क लाग्ने र मन खिन्न भइरहन थाल्यो ।

करिब साढे ३ वर्षको अवधिमा ७ पटकसम्म देवीले आफूले आफैँलाई मार्ने प्रयास गर्नुभयो । तर कहिले छिमेकीले बचाए त कहिले आफ्नै मनले मर्न हुँदैन भन्ठान्यो । कहिले ३ छोराछोरीको मायाले बचायो त कहिले आफूलाई दुःख दिनेका लागि भए पनि बाच्छु भन्ने अठोटले देवीलाई आफ्नासँगको लडाइ लड्न जीवित राख्यो ।

परदेश गएका श्रीमान् बेखबर हुँदा नागरिकता नै बनेन

गोरखाकी फूलमाया कुमालले परदेशी श्रीमान् बेखबर भएपछि दुई पटक आत्महत्याको प्रयास गर्नुभयो । २०७२ सालमा मलेसिया गएका श्रीमान् त्यहाँ पुगेको एक वर्षपछि एकाएक टाढिए । त्यसपछिका ७ वर्षमा फूलमायाले के के मात्र भोग्न परेन ।

बुवा आमाले खोजेको केटासँग फूलमायाको बिहे १६ वर्षकै उमेरमा भएको थियो । बुवा आमाले चिनेजानेकै केटासँग बिहे भएकाले जीवन सुखी होला भन्नेमा मन ढुक्क थियो । बिहेपछिका केही वर्ष जीवन सुख र खुसीमै रमायो पनि । 

बिहे गरेको ४ महिनापछि श्रीमान् साउदी गए । साउदीबाट कमाएर फूलमायालाई सुखैमा पाले । तर साउदीबाट फर्किएर जब २०७२ सालमा श्रीमान् मलेसिया गए, त्यसपछि भने फूलमायालाई परदेसिएका श्रीमानको मात्र होइन नागरिकताको अभाव पनि पलपलमा खड्किन थाल्यो । 

मलेसिया पुगेको एक वर्षसम्म बेलाबेलामा सम्पर्कमा आइरहने श्रीमान् एक वर्षपछि एकाएक सम्पर्कविहीन भए । फूलमायाले सम्पर्क गर्ने हर प्रयास गर्नुभयो । तर असफल हुन भयो । फेसबुकमा श्रीमानको आईडी भेटिएन ।

फूलमाया जीवन नै अन्त्य गरौँ भन्ने सोच आउँदाको त्यो क्षण सम्झँदै भन्नुहुन्छ ‘आत्महत्याको प्रयाससमेत गरेको थिएँ तर गाउँलेले बचाए’ फूलमायाले मर्नका लागि घाटीमा लगाएको पासो २ पटक नै गाउँलेले काटिदिए ।  

इमोमा फोन लागेन । सधैँ बोल्ने फोन नम्बरमा फोन लागेन । काखमा दुई छोराछोरी । पढाउने र बढाउने जिम्मा फूलमाया कै काँधमा, तर जिम्मेवारी कसरी पूरा गर्नु । ऋण कसैले पत्याउँदैनन् ।

खेतीपाती गरेर पेट पालौँ न त भन्दा खेतबारी छैन । केही इलम गरौँ, जागिर खोजौँ न त भन्दा पनि हातमा नागरिकता छैन । 

‘साउदीबाट फर्किएपछि बिहे दर्ता गरौँ, मेरो नागरिकता पनि बनाइदिनु बुढो भनेर कति भने तर उहाँले मान्नुभएन, अलिक दिनमा बनाउला पख न पख भन्नुभयो, मलेसिया गएपछि फर्केरै आउनुभएन’ फूलमाया सुनाउनुहुन्छ ‘श्रीमान् नै घरमा नभएपछि बिहे दर्ता पनि भएन नागरिकता पनि बनेन, मलाई त श्रीमानले फोन नगरे पनि नागरिकता भइदिएको भए गरिखान्थेंजस्तो लाग्थ्यो ।’

साउदी हुँदा पनि बेला बेलामा श्रीमान् निकै समय फोन गर्दैन थिए । फोनमा पैसा थिएन भन्दै केही समयपछि फेरि आफैँ सम्पर्क गर्थेँ । तर मलेसिया गएपछि भने एकाएक फेरिए । फोन किन नगरेको भनेर सोध्दा उल्टो गाली गर्थेँ । पैसा नभएर छटपटी परेका बेलामा पैसा पठाइदिनुस् भन्दा पनि बचन लगाउँथेँ ।

‘बिहे भएदेखि नै साह्रै सुख त दिएको हैन तर बुढोले यति धेरै दुःख देला भन्ने लागेको पनि थिएन’ आँखाभरि आशु पार्दै फूलमाया भन्नुहुन्छ ‘यी बालबच्चालाई कुन दुःख गरेर खुवाएको छु त मलाई थाहा छ । उहाँले कहिले पनि जिम्मेवारी नै लिनुभएन ।’

अरूको जग्गा कमाएर खेती गरी जसोतसो पेट त पाल्नुभयो फूलमायाले । तर खेतीपातीले मात्र कहाँ चल्छ र । बालबच्चा भएपछि खर्च बढी हुन्छ । स्कुलदेखि अस्पतालसम्म पैसा चाहिन्छ । फूलमायालाई पैसाको अभाव भयो । तर, न बिहे दर्ता छ, न नागरिकता । अप्ठेरासँग लड्दा लड्दै झुुण्डिएर मर्ने प्रयास गर्नुभयो । 

‘यो जुनीमा म केही गर्न सक्दिनजस्तो लाग्न थाल्यो, त्यही भएर मैले त बाच्नुको अर्थ नै देखिन त्यो बेलामा’ फूलमाया जीवन नै अन्त्य गरौँ भन्ने सोच आउँदाको त्यो क्षण सम्झँदै भन्नुहुन्छ ‘आत्महत्याको प्रयाससमेत गरेको थिएँ तर गाउँलेले बचाए’ फूलमायाले मर्नका लागि घाटीमा लगाएको पासो २ पटक नै गाउँलेले काटिदिए ।  

परदेशमै श्रीमान् बिते, लोग्ने खाएको भन्दै परिवारले कुटे

रोजगारीका लागि २०७६ सालमा यूएई पुगेका पाँचथरको फिदिम नगरपालिकाकी रजिमा राईका श्रीमानको ज्यान विदेश पुगेको पाँच महिनामै गयो । कोरोना महामारीको समयमा कोरोनाले ज्यान गएको भन्दै यूएई सरकारले शव नेपाल पठाएन । करिब एक महिनामा २०७७ सालको असारतिर अस्तु मात्र घरमा आयो । 

खुसी लिन परदेश गएको पाँच महिनामै संसारबाट सधैँका लागि बिदा भएका श्रीमानले रजिमाको संसार पनि आफ्नो मृत्युसितै अध्यारो पारेर गए । १७ वर्षकै उमेरमा श्रीमान् गुमाएकी रजिमाले श्रीमान् बितेपछिका दिनहरूमा के के मात्र सहन परेन । आफ्नै परिवारका सदस्यले श्रीमान् खाएको आरोप लगाएर कुटपिट गरे । 

परिवारका एक मात्र छोरा थिए उहाँका श्रीमान् । घरमा सौतेनी सासू र ससुरा थिए । आमाजुको बिहे भइसकेको थियो । परबाट हेर्दा त परिवार सुखी नै थियो । तर बुहारी भएर त्यो घरमा भित्रिएको दिनदेखि रजिमाको संसार नर्क जस्तै भयो । 

उमेरले २० वर्षमा हिँड्दै गरेकी रजिमा ३ वर्षे छोरी च्यापेर अहिले परिवारसँग आफ्नो अस्तित्व र अंशका लागि लडिरहनुभएको छ । 

श्रीमान् हुँदा पनि रजिमालाई परिवारले कहिल्यै राम्रो व्यवहार गरेन । रजिमा दम्पतीलाई परिवारले घरबाट निकालिदिएका थिए । घरभन्दा माथि जङ्गलको छेवैमा रहेको गोठमा बसेका थिए रजिमा दम्पती । २०७६ सालको साउनमा छोरी जन्मिइन । दुई ज्यान तीन भएपछि खर्च बढ्यो । त्यसपछि २०७६ सालको मङ्सिरमा ४ महिनाकी छोरी र रजिमालाई घरमा एक्लै छाडेर कामको खोजीमा यूएई गएका थिए श्रीमान् । 

श्रीमान् बितेको खबर पनि लुकाए परिवारले । १७ वर्षकै उमेर बिधुवा भएकी रजिमा र एक वर्षको उमेर पनि नहुँदै आफ्नो बुवा गुमाएकी आफ्नी नातिनीमाथि समेत दया देखाएनन् ।

उहाँ जिउँदो हुँदा त मलाई वास्ता गरेनन् ठिक छ, तर मेरो बुढो मरेको खबर अघिल्लो दिन नै थाहा पाएर पनि मलाई केही भनेनन्, उल्टो छोरो मरेको खबर आमाले हाँस्दै पो सुनाउनु भयो’ त्यस दिनदेखि रजिमालाई मानवता नभएका मानिस पनि हुँदा रहेछन् भन्ने अनुभव भयो । श्रीमान् गुमाउनुको पीडा मलम लगाउनुको साटो श्रीमान् खाएको, यो बच्चा पनि अरूकै हो जस्ता नमिठा बचनले पलपलमा घोचिरह्यो । 

‘मेरो त अनुहार देख्यो कि थुक्नुहुन्थ्यो आमाजू दिदीले, सासूले पनि त्यस्तै गर्नुभयो, बिस्तारै मसँग कोही बोल्न छाड्नुभयो, म सकी नसकी काम गर्न खोज्थेँ तर मलाई भाँडा पनि छुन नदिने, नजिकै पर्न नदिने, अनुहार नै नदेखा भन्नुहुन्थ्यो’ रजिमा श्रीमान् गुमाएपछि परिवारले गरेका व्यवहार सुनाउनुहुन्छ । हिंसाको रूप बचनमा मात्र सीमित भएन । बिस्तारै कुटपिट पनि सुरु भयो । रजिमाका माइती आए । गाउँले पनि बोलाएर भेला गरे । तर सासू र आमाजूले उल्टै रजिमाले आफूहरूलाई कुटेको आरोप लगाए । 

वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायता पनि रजिमालाई थाहै नदिई आफ्नै नाममा लिनका लागि प्रयास गर्‍यो परिवारले । रजिमाले श्रीमान् गुमाएको तीन वर्ष पुग्यो । यो तीन वर्षमा रजिमालाई परिवारले सुखको सास फेर्न दिएको छैन ।

बजारमा एउटा कोठा लिएर कलेज बढ्न थालेकी रजिमालाई अर्कैसँग सम्पत्ति लिएर पोइल गएको आरोप परिवारको छ । उमेरले २० वर्षमा हिँड्दै गरेकी रजिमा ३ वर्षे छोरी च्यापेर अहिले परिवारसँग आफ्नो अस्तित्व र अंशका लागि लडिरहनुभएको छ । 

पारिवारिक अवहेलना र लाञ्छनाले मानसिक समस्या

परदेशीका श्रीमतीले श्रीमान् परदेशमा रहँदा वा परदेशी भूमिमै श्रीमान् गुमाउँदा भोग्न परेका यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । श्रीमान् साथमा नहुँदा आफ्नैसँग लडाइ लड्दै जीवन अघि बढाउनु परदेशीका श्रीमतीहरूको दैनिकी नै बनेको छ । 

सुरक्षित आप्रवासन सामी कार्यक्रमले सन् २०१६ मा गरेको एक अध्ययनले श्रीमान् नहुँदा घर व्यवहार धान्ने श्रीमतीहरूले सम्मानको साटो उल्टो परिवार र आफन्तैबाट अवहेलना र लाञ्छना भोग्न परेको तथ्यलाई उद्घाटित गरेको छ ।

श्रम तथा रोजगार विज्ञ सरु जोशी भन्नुहुन्छ, ‘यसै भयो भन्नका लागि यसबारे अध्ययन अनुसन्धान भएको छैन, आफ्नो वरिपरि देखिएको घट्नालाई आधारमा भनेर यो भनिएको छ, तर व्यवहारिक रूपमा भन्दा श्रीमान् परदेश गएपछि महिलाहरूलाई कार्यभार पनि बढेको छ ।’ 

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी)ले वैदेशिक सन् २०२२ को मे महिनामा सार्वजनिक गरेको अर्को अध्ययनले वैदेशिक रोजगारीमा गएकाका श्रीमतीमध्ये  ६० प्रतिशतमा कुनै न कुनै खालको मानसिक समस्या भएको देखाएको छ । 

वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३० हजार भन्दा बढी व्यक्तिलाई सेवा दिँदा त्यस मध्ये ६० प्रतिशत अर्थात् १८ हजार जना परदेशीका श्रीमतीमा कुनै न कुनै प्रकारको मानसिक समस्या भएको पाइएको हो । 

सीएमसीका अनुसार वैदेशिक रोजगारको कारणले सबैभन्दा धेरै चिन्ताजन्य समस्या ७३ प्रतिशत, डिप्रेसन १७ प्रतिशत, आघात ४ प्रतिशत, आत्महत्याको प्रयास गरेको तथा आत्महत्याको जोखिम ३ प्रतिशतमा रहेको पाइएको छ । 

सन् २०१९ को अप्रिल महिनामा सुरक्षित आप्रवासन सामी कार्यक्रम र सेभ दि चिल्ड्रेन्सले  संयुक्त रूपमा प्रकाशन गरेको एक अध्ययनले परदेश गएका श्रमिकहरू कतिपय बीचमा घर फर्किएर त कतिपय बीचमा घर नै नफर्किइकन विदेशमा बस्ने अवधि दुई वर्षदेखि १० वर्षसम्म भएको देखाएको छ ।

अध्ययनका अनुसार ५२ प्रतिशत श्रमिकको परिवारसँगको भेट दुईदेखि तीन वर्षको अन्तरालमा मात्रै हुन्छ । आठ प्रतिशतको भेट त १० वर्षको अन्तरालमा मात्र हुने गरेको पाइएको छ । जसको असर प्रत्यक्ष रूपमा उनीहरूको सम्बन्ध र घर व्यवहार धान्ने श्रीमती र बालबच्चामा परेको देखिन्छ । 

पछिल्लो समय देखिएको प्रवृत्ति हेर्दा कतिपय गाउँपालिका र नगरपालिका नै परदेशीका श्रीमतीहरू बदमास भए भन्ने निष्कर्षमा पुगेको देखिन्छ । तर श्रम तथा रोजगार विज्ञ सरु जोशी भन्नुहुन्छ, ‘यसै भयो भन्नका लागि यसबारे अध्ययन अनुसन्धान भएको छैन, आफ्नो वरिपरि देखिएको घट्नालाई आधारमा भनेर यो भनिएको छ, तर व्यवहारिक रूपमा भन्दा श्रीमान् परदेश गएपछि महिलाहरूलाई कार्यभार पनि बढेको छ ।’ 

युवा जति परदेश हिँडेपछि महिलामाथि कामको बोझ मात्र थपिएको छैन, गाउँमा मलामीदेखि सहकारीसम्म महिलाहरूले धान्नुपर्ने अवस्था पनि आएको छ । बालबच्चाको स्कुलमा उपस्थित हुनेदेखि खेतीपाती पनि महिलाले नै धानेका छन् । यी कारणले गर्दा महिलाहरूको सक्रियता र गतिशीलता पनि बढेको छ ।

घर व्यवहारको जिम्मेवारी एक्लै उठाउँदा महिलाहरू सचेत पनि भएका छन् । पुरुषहरू देश छाडी कमाउनकै लागि परदेश लागे पनि घरमा भएका उनीहरूका श्रीमती, आमा र दिदीबहिनीले समाजलाई नै गतिशील बनाएका छन् ।

‘महिलाहरूको गतिशीलता बढ्दा त्यसलाई नै आधार मानेर बिग्री भनेर भन्ने गरेको पनि पाइन्छ तर सबैले त्यसो गरेका छैनन्, कतिपयले त परदेशी श्रीमानले कमाएको पैसाको सदुपयोग गरेर उदाहरणीय काम गर्दै परदेशी श्रीमानलाई स्वदेश पनि फर्काएका छन्, तर यहाँ भन्दा चाहिँ एक दुई जनाको उदाहरण लिएर सबैलाई नराम्रो भन्ने गरिन्छ, पछिल्लो समय यो प्रवृत्ति केही कम भएको हो कि जस्तो पनि लाग्छ’ श्रम तथा रोजगार विज्ञ जोशी भन्नुहुन्छ । 

लोग्ने साथमा नहुनुको पीडा, आफ्नैले लगाउने लाञ्छना र गर्ने अवहेलना सहेरै भए पनि घरका लोग्ने मानिस परदेश हिँड्दा श्रीमतीहरूले घरको आर्थिक र सामाजिक दुवै व्यवहार सम्हालेका छन् । बालबच्चाको रेखदेख, घरमा वृद्ध वृद्धा छन् भने उनीहरूको जिम्मेवारीदेखि खेतीपाती र अन्य पुरुषले गर्ने व्यवहार पनि महिलाकै काँधमा आउँदा परदेशीका श्रीमतीहरू गतिशील भएका छन् ।

खेतीपाती र मेलापात पनि भ्याएका छन् । घर व्यवहारको जिम्मेवारी एक्लै उठाउँदा महिलाहरू सचेत पनि भएका छन् । पुरुषहरू देश छाडी कमाउनकै लागि परदेश लागे पनि घरमा भएका उनीहरूका श्रीमती, आमा र दिदीबहिनीले समाजलाई नै गतिशील बनाएका छन् ।

उनीहरू छन् र त पुरुषले ढुक्कले परदेशमा कमाउन पाएका छन् । तर उनीहरूले गरेको यो योगदानको लेखाजोखा किन कतै हुँदैन ? उनीहरूलाई आरोप र लाञ्छना कहिलेसम्म लगाइरहने ?

अन्तिम अपडेट: कात्तिक १९, २०७९

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया