उपाधि लैजान दिँदैनौँ : कप्तान एन्जिला

 भदौ २०, २०७९ सोमबार १८:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले बताएकी छिन् । 

आज सोमवार काठमाण्डौमा आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगिताको उपाधि जित्नलाई प्रयास गर्ने बताइन् । उद्घाटन खेलमा नेपालले भाेलि मङ्गलवार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिए पनि कप्तानको आर्मब्याड पाएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताएकी हुन् । 

नेपाली टोलीका प्रशिक्षक कुमार थापाले विगतमा भएको कमजोरी घटाएर राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य लिएको बताए । 

अहिलेसम्म सम्पन्न साफ च्याम्पियनशिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छ्रैन । भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको र केही दिनको नेपालको अभ्यास खेलबाट टोलीमा मनोबल उच्च भएको बताइन् । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताए पनि प्रतिस्पर्धात्मक खेल हुने बताइन् । नेपाली समर्थक माझ खेल्न मानसिक रूपमा कठिन हुने र अनुभव कम भए पनि राम्रो खेल्न प्रयास गर्ने उनको भनाइ छ । 

यस्तै अन्य टोलीले पनि साफ महिला च्याम्पियशिपका लागि तयारी राम्रो गरेको र प्रतिस्पर्धात्मक खेलका लागि तयार रहेको प्रतिक्रिया दिए । 

मङ्गलवार हुने प्रतियोगितामा पाकिस्तान आठ वर्षपछि सहभागिता जनाउँदै छ । यो संस्करणमा साफका सबै देशले सहभागिता जनाउँदै छन् । दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी नकआउटको आधारमा खेलाउँदै छ । 

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्ग्लादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्धपर्धा गर्नेछन् । समूह ए मा नेपाल, श्रीलङ्का र भुटान छन् । समूह बी मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

अन्तिम अपडेट: जेठ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया