डेङ्गी नियन्त्रण गर्न सरकारलाई मानव अधिकार आयाेगकाे आग्रह

 भदौ २१, २०७९ मंगलबार १७:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई डेङ्गी नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज मङ्गलवार विज्ञप्ति जारी गर्दै डेङ्गीको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र पालिकालाई आग्रह गर्नुभएको हो । 

कोरोना महामारी कायमै रहेको अवस्थामा अहिले देशव्यापीरूपमा फैलिँदै गइरहेको डेङ्गी रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ । 

बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायको यथेष्ठ ध्यान पुग्न नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको र तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको जस्ता विषय विभिन्न सञ्चारमाध्यमका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएका छन्, आयोगले भनेको छ ।  

डेङ्गी सङ्क्रमणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेका पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेङ्गी सङ्क्रमण गराउने जातका लामखुट्टे उत्पादन हुने तथा फैलिन सक्ने ठाउँहरू पहिचान गरी नष्ट गर्ने कार्यमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ । 

डेङ्गी नियन्त्रण तथा रोकथामका लागि सरसफाइ, जनचेतनालगायत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग तीनै तहका सरकारलाई आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया