हामी त ५ वर्षका लागि हाे, कर्मचारी त पेन्सनसम्म हुन्छन् नि ! : प्रधानमन्त्री देउवा

‘कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो’

 भदौ २२, २०७९ बुधबार १३:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । आज बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताउनुभयो । कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो ? किन काम भइरहेको छैन ? व्यापक छलफल गरौँ । हामी त पाँच वर्षका लागि हाे । हार्ने जान्छ, जित्ने आउने हो । तपाईँहरू त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । एउटा बाटाे बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन । बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार । देशभरको अवस्था त्यस्तै छ । पोलिसिले मात्रै केही हुनेवाला छैन, ब्युरोकेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन ।’

प्रधानमन्त्री देउवाले पालिका, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताउनुभयाे । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताउनुभयो । 

उहाँले भन्नुभयाे, ‘तपाईँहरू नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्न सक्छ । पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो । काम हुनुपर्छ नि । देशको आम्दानी हुनुपर्छ नि । ब्युरोकेसीको सहयोगविना कुनै पनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोकेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ । कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन । सबै जिम्मेवार हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले देश विकासका लागि काम गर्न कर्मचारीहरूलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया