च्याम्पियन्स लिग : बार्सिलोना, बायर्न, एट्लेटिको मड्रिड र टोटनह्याम विजयी, लिभरपुल र इन्टर मिलान पराजित

 भदौ २३, २०७९ बिहीबार ८:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लेजनलाई हराएको छ । गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले प्लजेनलाई ५–१ गोलको अन्तरले हराएको हो ।

फ्रेन्की किसी र फेरान टोरेसले एक/एक गोल गरे । पाहुना टोलीका जान सिकोराले एक गोल फर्काए । समूह ‘सी’ मा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । अर्को खेलमा टोटनह्यामले फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हराएको छ ।

टोटनह्यामका रिचर्डलिसनले अन्तिम समयमा दुई गोल गरे । समूह ‘डी’ मा टोटनह्यामले तीन अङ्क जोडेको छ । यो समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङले जर्मन क्लब फ्रेन्कफर्टलाई ३–० ले हराएको छ । च्याम्पियन्स लिग फुटबलको अर्को खेलमा इटालियन क्लब नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोलले हराएको हो । नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक/एक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए । समूह ‘ए’ को पहिलो खेलमा लिभरपुलले खराब प्रदर्शन गरेको हो । नापोलीले तीन अङ्क जोडेको छ । त्यही समूहको अर्को खेलमा डच क्लब आजाक्सले रेन्जर्सलाई हराएर तीन अङ्क जोडेको छ । 

च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ । बायर्नले घरेलु टोली इन्टर मिलानलाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लिरोए सानेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ६६औँ मिनेटमा डानिलो डी एम्ब्रुसोले आत्मघाती गोल गरे । 

अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–१ ले पराजित गरेको हो । एट्लेटिकोको जितमा मारियो हर्मोसो र एन्टोइन ग्रिजमनले गोल गरे । पोर्टोका मेटेअस युरिवेले एक गोल फर्काए ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया