राजेन्द्र पराजुलीको कथासंग्रह ‘अघोरी’ सार्वजनिक

 असोज १२, २०७५ शुक्रबार १६:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आख्यानकार राजेन्द्र पराजुलीका चोटिला कथाहरुको सङ्ग्रह ‘अघोरी’ सार्वजनिक भएको छ । 

यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने १७ कथाहरु समावेश छन् । 

प्रायः हरेक मान्छेका आ–आफ्नै कथा हुन्छन्, जो सबैले भन्न सक्दैनन् । यीनै नभनिएका–नलेखिएका मान्छेका भावना, संवेदना, प्रेम, आवेग, दुःख, पीडा, वैराग्य र खुशीका कथाहरु छन् अघोरीमा । 

‘मान्छे पढ्नु–कथा पढ्नु अथवा मान्छे लेख्नु–कथा लेख्नु मलाई उस्तैउस्तै लाग्छ’, कथाकार पराजुली भन्छन्, ‘नेपाली समाजको मान्यता बनिबनाउ तथा स्थिर खालको छ । त्यसमा अलिकति भएपनि हलचल ल्याउन मैले शव्दका ढुङ्गा हान्ने प्रयत्न गरेको छु ।’

साहित्यकार तथा पत्रकारका रुपमा परिचित पराजुलीले यसअघि कथा, कविता र उपन्यासका आधा दर्जन पुस्तक लेखिसकेका छन् । उनको पछिल्लो कृति अघोरीको विशेषता यसका कथाहरुमा रहेको विविधता हो । 

अघोरीको कुनै पात्र राजनीतिक पराजयपछि शान्तिको खोजीमा एकान्तवासमा हराएकी हुन्छिन् । एकजना आधुनिक अघोरी जीवनको सार्थकता खोज्दै आफैं असामान्य अवस्थामा पुगेको हुन्छ । एउटा कथामा भुटानी अन्वेषक राजदरबार हत्याकाण्डको रहस्य बुझ्न आउँदाको अनुभूति छ । अनि कुनै साहित्यकार मदन पुरस्कार प्राप्तिको उपाय खोज्दै भौंतारिएको रमाइलो कथा पनि छ । 

मधेस आन्दोलन चल्दै गर्दा लेखक एउटा युवा जोडीको जीवनमा प्रवेश गर्छन्, जसले ‘केमिस्ट्री’ जन्माएको छ । एउटा कथामा चाहिं नायिकाले सपनामा प्रश्न गर्छिन्, ‘तिमीले मेरो हत्या किन गर्यौ लेखक ? तिमी लेखक हौ कि हत्यारा ?’

‘अघोरी’ किताब पब्लिसर्सको दोस्रो प्रकाशन हो । यसले अघिल्लो महिना निकालेको पुस्तक, दुर्गा सुवेदीद्वारा लिखित ‘विमान विद्रोह’ बजारमा चर्चामा रहेको छ । 

‘हामीले राजनीतिक गैर–आख्यानपछि साहित्यिक आख्यान प्रकाशन गरेका छौँ’, किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘अघोरीले पाठकहरुलाई छुट्टै स्वाद दिने हाम्रो अपेक्षा छ ।’
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया