पोखरामा नाटक 'सुनकेशरी' मञ्चन सुरु

 भदौ २५, २०७९ शनिबार ९:४९:३४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रवारदेखि नाटक 'सुनकेशरी' मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेख्नुभएकाे हाे । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन बेलुकी ५ बजे र शनिवार अतिरिक्त शाे दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परीक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जीवजंग क्षेत्रीकाे अभिनय रहेकाे छ । यस्तै आर्य सुमन खड्का, रोशन लोहोरुङ राई, सुनील राई, उज्ज्वलल राई, विवेक कट्वाल, नोर्देन ख्यूङ्वा लामा, रक्षा पाण्डे, अनुज्ञा रेग्मी, सविन गिरी, सलिना खत्री, किसम वीर विक्रम थापा, अभिषेक राई, सुनील खड्का र रोसन अधिकारीलाई पनि नाटकमा देख्न सकिन्छ । 

नाटककाे प्रत्यक्ष सङ्गीतमा अङ्कित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिएका छन् । यो नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गरेका हुन् ।

एक युवतीले आफ्नो सुन्दरताको कारण भोग्नुपरेका तिता–मिठा सङ्घर्ष तथा अनुभवहरूको कथालाई नाटकमा बुनिएको छ । नाटककाे कथा लेखक जोशीले २०२७ सालमा कर्णालीमा सम्पन्न भएको लोक संस्कृति सर्वेक्षणको क्रममा सङ्कलन गरेका हुन् । जनजीब्रोमा जीवन्त भइरहेको कथालाई जोशीले नाटकीय रूप दिएका हुन् ।

यो नाटक १० वर्ष अगाडि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको थियो । नेपालका साथै भारत र बङ्ग्लादेशमा समेत यो नाटक मञ्चन भइसकेको छ । यो नाटक आउँदाे कात्तिक १८ गतेदेखि मङ्सिर ४ गतेसम्म मण्डला नाटकघर काठमाण्डौमा समेत मञ्चन हुनेछ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया