महिला साफ च्याम्पियनसिपमा बङ्गलादेश सेमिफाइनलमा : पाकिस्तान ६–० गोलले पराजित

 भदौ २५, २०७९ शनिबार १५:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेश सेमिफाइनलमा पुगेको छ । काठमाण्डौको दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलले हराएको हो ।

बङ्गलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक/एक गोल गरे । सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन् । बङ्गलादेशको लगातार यो दोस्रो जित हो ।

पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो । पाकिस्तानको लगातार यो दोस्रो हार हो । पाकिस्तान भारतसँग ३–० गोलले पराजित भएको थियो । अर्को खेलमा आजै बेलुका भारत र माल्दिभ्स खेल्दैछन्। खेल साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।

सेमिफाइनल पुग्नको लागि भारतलाई आजको खेल जित्नुपर्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् । नेपाल र भुटानले एक/एक खेल जितेका छन् । समूह ‘ए’ मा पाकिस्तान र माल्दिभ्स तथा ‘बी’ मा रहेको श्रीलङ्का अङ्कविहीन छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया