दोर्दी काेरिडोर प्रसारण लाइन सञ्चालनमा, निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने

 भदौ २६, २०७९ आइतबार १८:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी काेरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेशनसम्मको प्रसारण लाइनमा आइतवारदेखि विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । १३२/११ केभी कीर्तिपुर सबस्टेशन यसअघि आंशिकरूपमा सञ्चालनमा आइसकेको थियो । अब सबस्टेशन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।  

प्रसारण लाइन सञ्चालनमा आएसँगै त्यस काेरिडोरमा निजी क्षेत्रले निर्माण गरेका चार वटा जलविद्युत् आयोजनाको ७२ मेगावाट विद्युत् कीर्तिपुर सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।  

प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताउनुभयो । ‘गएकाे वर्षको बाढीले क्षति पुर्‍याएकाे एउटा टावर निर्माणको अन्तिम चरणमा छ, त्यसैले उदीपुरबाट दोर्दी खोला–१ जलविद्युत् आयोजनासम्म हाम्रो लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेशनसम्म दोर्दी खोला–१ को प्रसारण लाइन प्रयोग गरी लाइन सञ्चालनमा ल्याएका छौँ’, पौडेलले भन्नुभयो, ‘प्रसारण लाइन अभावमा विद्युत् जोड्न नपाउने हो कि भन्ने चिन्ता र चासो त्यस क्षेत्रका निजी लगानीकर्ताहरूलाई थियो, अब लाइन सञ्चालनमा आएपछि कुनै पनि आयोजनाको बिजुली खेर जाँदैन ।’  

प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ए, १२ मेगावाटको दोर्दी खोला १ र ८ दशमलव ६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिने छन् । दोर्दी खोलामा निर्माण भएको जलविद्युत् आयोजनाहरूको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेशनमा जोडिने छ । उदीपुर सबस्टेशनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाहरूको विद्युत् वैकल्पिक व्यवस्थामार्फत अहिले सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत् गृहको स्वसचयार्डमा जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभी मर्स्याङ्दी काेरिडोरको झन्डै ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ ।

झन्डै ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी काेरिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेशन निर्माण गरेको हो । निर्माण सम्पन्न भएको प्रसारण लाइनको गएकाे वर्षको असारमा दोर्दी खोलामा आएको बाढीले चार वटा टावर बगाइदिएको थियो । त्यसमध्ये तीन वटा टावर निर्माण सम्पन्न भएको छ भने एउटा अन्तिम चरणमा छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया