नेपाल र चीनबीच अन्तर–संसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर

 भदौ २७, २०७९ सोमबार १९:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गर्नुभएको संसद् सचिवालयले जनाएको छ । 

समझदारी पत्रमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत समेत दुई देशबीच अन्तर–आबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण तथा 'इन्टर–पार्लियामेन्ट्री' युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरूको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न दुई देशका प्रतिनिधि सहमत भएका उल्लेख छ । यस्तै बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर–संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्नेदेखि दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्क आदानप्रदान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । 

चीनको राष्ट्रिय जनकंग्रेसका प्रमुख ली चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो । टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुभयो । प्रमुख चान्सले भाेलि मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चान्सुसँग संसद् भवनमै भेटवार्ता गर्ने तालिका रहेको छ । 

जनकंग्रेसका अध्यक्ष चान्सुले पर्सि बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिस्ट पार्टीका दोस्रो वरीयताका नेता नेपाल आउनुलाई महत्त्वका साथ हेरिएको छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया