नेपाल–बङ्ग्लादेश स्रष्टा सम्मेलन सम्पन्न

 भदौ २८, २०७९ मंगलबार १६:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'अभिव्यक्ति' द्वैमासिक साहित्यिक पत्रिकाको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणमा आएका सात जना बङ्ग्लादेशी साहित्यकारको टोली हिजाे साेमवार स्वदेश फर्किएका छन् । 

बङ्ग्लादेश–नेपाल मैत्री समाजका अध्यक्ष लायन मोशियुर अहमदको नेतृत्वमा साहित्यकारहरू डा. अन्वारा शैयद हक, प्रा. डा. दिलारा हाफिज, मोहम्मद मोसियुर रहमान, प्रा. शेलीसेन गुप्ता, गायक काजलकुमार बेनर्जी र सल्लाउद्दीन कुटु नेपाल आएका थिए । उनीहरूले काठमाण्डाै, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय तथा ऐतिहासिक सम्पदाहरूको भ्रमण गर्नुका साथै शताब्दी पुरुष सत्यमोहन जोशीसँग पनि भेट गरेका थिए ।

उनीहरूको सम्मानमा काठमाण्डाैमा नेपाल–बङ्गलादेश स्रष्टा सम्मेलन समारोहको आयोजना गरिएको थियो । समारोहमा 'अभिव्यक्ति' साहित्यिक पत्रिकाका संस्थापक तथा संरक्षक नगेन्द्रराज शर्माले स्रष्टाहरूमा हुने गरेको आपसी भ्रमणले दुवै देशको साहित्य बलियो हुने बताउनुभयाे । उहाँले बङ्गलादेशका सातै जना स्रष्टालाई सम्मानपत्र पनि प्रदान गर्नुभएकाे थियाे ।  

'अभिव्यक्ति' का प्रधान–सम्पादक पवन आलोकको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार रोचक घिमिरे, रामप्रसाद पन्त, प्रतीक ढकाल, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, शङ्कर भारती, श्रीओम श्रेष्ठ 'रोदन' र यादव भट्टराईले नेपाल–बङ्गलादेशबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धको बारेमा प्रकाश पारेका थिए । कवि उमेश राई अकिञ्चनले कविता वाचन गरेका थिए । 

बङ्ग्लादेशका मोशियुर अहमद, सलाउद्दीन कुटुले नेपाल प्राकृतिक रूपले मात्र नभएर सांस्कृतिक र साहित्यिक दृष्टिले पनि महत्त्वपूर्ण भएको विचार व्यक्त गरेका थिए । त्यस अवसरमा प्रसिद्ध गायक काजलकुमार मुखर्जीले रवीन्द्रनाथ ठाकुरको प्रसिद्ध गीत 'एक्ला चलो ...' गाउनुभएकाे थियाे ।  

बङ्ग्लादेशी स्रष्टाहरूको सम्मानमा ललितपुर, भक्तपुर, पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएकाे थियाे । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया