पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ – नेपालमा दलित समुदायका मानिसहरूमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढेकाे एक अध्ययनले देखाएकाे छ । नेपाल पत्रकार महासंघको केन्द्रीय दलित विभागले समता फाउण्डेसनसँगको सहकार्यमा गरेको प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक २०७८’ ले यस्ताे देखाएकाे हाे ।
यस प्रतिवेदनले ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको देखाएको छ । त्यस वर्ष जातीय भेदभावकै आधारमा ५ जनाको हत्या भएको छ भने २५ जना दलित महिला, किशोरीहरूमाथि जबरजस्ती करणी भएको छ । त्यस्तै, हत्या प्रयास १, हिरासतमा ज्यान गुमाएका १, आत्महत्या दुरुत्साहन ७, जबरजस्ती करणी प्रयास ७, यौन दुर्व्यवहार ३, सामाजिक सञ्जालबाट गालीगलौज १, कोठा दिन इन्कार १, बनभोजमा विभेद १, मन्दिरमा विभेद १, खानेपानीमा विभेद १, दुध घिउ खरिदमा निषेध १, क्यान्टिनबाट निकाला १, ऋण तिर्न नसक्दा कुटपिट १, अन्तरजातीय प्रेम र विवाह सम्बन्धी ११ लगायत छन् । दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको, तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको प्रतिवेदनको निष्कर्ष छ ।
प्रतिवेदनअनुसार ८८ मध्ये १० वटा घटनामा मात्रै जिल्ला अदालतहरूबाट कानुनी उपचार भएको छ । त्यसमध्ये पनि तीन वटा मुद्दामा मात्रै दोषीउपर सजाय भएको छ, बाँकीले सफाई पाएका छन् । हाल ३४ वटा मुद्दा अदालतमा विचाराधीन छन् भने प्रतिवादी फरार हुँदा १९ वटा मुद्दा प्रहरी कार्यालयनमै थन्किएका छन् । १३ वटा मुद्दामा भने कानुनी प्रक्रिया नै अघि बढेको छैन । १२ वटा मुद्दा भने मिलापत्रमा टुंग्याइएको छ ।
वर्तमान कानुनअनुसार जातीय विभेद र छुवाछुतका मुद्दा सामाजिक अपराध र सरकारबादी मुद्दा हुन् । तर, अनुसन्धान अधिकारीको लापरबाहीका कारण पीडितले न्याय पाउन सकेका छैनन् । प्रतिवेदनअनुसार जातकै आधारमा हुने अपराधमा दोषीलाई उन्मुक्ति दिन र घटनाहरूलाई लुकाउन राजनीतिक दबाब, आर्थिक लेनदेनका आधारमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव, भौगोलिक जटिलता, माफी तथा कानुन कार्यान्वन गर्ने निकायहरूको न्यून तदारुकता लगायत प्रमुख कारण छन् ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य एव्म प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायमाथि विभिन्न बहानामा हिंसा भइरहेको भन्दै त्यसप्रति राज्यका निकाय संवेदनशील हुनुपर्ने बताउनुभयो । आयोगले विशेषगरी उजुरी परेका र सञ्चारमाध्यममा आएका समाचारलाई सत्यतथ्य छानबिन गरी घटनाको अध्ययन गरी दोषीमाथि कारबाही गर्न सिफारिस गर्दै आएको बताउनुभयो । उहाँले मानवता विरोधी यस्तो सामाजिक अवस्थालाई मुक्त गर्न सरकारले पहल लिनुपर्नेमा त्यसका लागि आयोगबाट सिफारिसहरूको कार्यान्वयन समेत हुन नसकिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँकाअनुसार आयोगमा आर्थिक वर्ष ०७७/०७८ मा ३६ वटा घटना दर्ता भएका छन् भने आर्थिक वर्ष ०७८/०७९ मा ५३ वटा घटना दर्ता भएका छन् ।
राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले दलितमाथि हुने धेरैजसो हिंसाका घटनामा उनीहरुको आर्थिक अवस्था जोडिने हुँदा दलित समुदायलाई आर्थिक रुपमा समुन्नत बनाउनुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यममा प्रकाशित विषयवस्तुले समाजमा धेरै प्रभाव पार्ने भन्दै दलित समुदायका विषयवस्तुलाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा विगतको तुलनामा दलित समुदायका पत्रकारको संख्या बढिरहेको भन्दै दलित समुदायका विषयवस्तुलाई पत्रकारले नै प्राथमिकतामा राखेर समाचार लेख्नुपर्ने पनि बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै महासंघका महासचिव रोसन पुरीले नेपाल पत्रकार महासंघले महासंघका सबै तहमा समानुपातिक सहभागिताका लागि विधानमै सुनिश्चित गरेको बताउनुभयो । उहाँले नागरिक अगुवा संस्था पत्रकार महासंघमा समेत दलित, महिला लगायत उत्पीडित वर्गको प्रतिनिधित्व बढेर गएको, पर्याप्त नभएको भन्दै त्यसलाई बढाउन महासंघले विभिन्न प्रयासहरू गरिरहेको बताउनुभयो ।
समता फाउण्डेशनका अध्यक्ष प्रदिप परियारले राज्यलाई थप जिम्मेवार बनाउन र दलित समुदायको न्यायका लागि उनिहरुमाथि भएका हिंसाका घटना अभिलेख गरी प्रकाशन गरिएको बताउनुभयो । महासंघका सचिव एवम् केन्द्रीय दलित विभागका संयोजक हेमकर्ण विकले महासंघले सबै प्रकारका हिंसा र विभेदहरूका विरुद्ध प्रयास गरिरहेको भन्दै दलित समुदायको अधिकार सुनिश्चिताका लागि समेत सञ्चार क्षेत्रबाट पहल हुनुपर्ने बताउनुभयाे । अधिवक्ता एवं अनुसन्धानकर्ता प्रकाश नेपालीले दलित समुदायको मानवअधिकार लगायत विभिन्न हिंसाका घटनाको अध्ययन गरी उनीरुको न्यायका लागि दबाव सृजना गर्न पुस्तक महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य एवम् दलित विभागका सहसंयोजक प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य सुभाषप्रसाद शाह लगायत सरोकारवाला र पत्रकारहरू सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।