वन्यजन्तुका लागि साँघुरो बन्दै चिडियाखाना

 भदौ ३०, २०७९ बिहीबार ११:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको जावलाखेलमा निर्माण गरिएको केन्द्रीय चिडियाखाना वन्यजन्तुका लागि साँघुरो बन्दै गएको छ । करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको नेपालको केन्द्रीय चिडियाखानामा वन्यजन्तुको सङ्ख्या बढ्दै जाँदा वन्यजन्तुको बासस्थान साँघुराे हुँदै गएकाे हाे । यसैगरी आगन्तुकको भिडले होहल्ला हुँदा वन्यजन्तुलाई असर गर्ने गरेको पाइएकाे छ । 

वन्यजन्तुमैत्री खोर भए पनि ठूला हलको अभावमा समस्या समाधान हुन नसकेको चिडियाखाना प्रशासनले जनाएको छ । २०५२ सालदेखि चिडियाखानाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले गर्दै आएको छ । अहिले सदर चिडियाखानामा कुल १ सय १३ प्रजातिका एक हजार एक सयभन्दा बढी वन्यजन्तुहरु राखिएको छ । यी प्रजातिमध्ये ३३ स्तनधारी, ६१ पक्षी, ८ उभयचर र १७ माछा राखिएका छन् ।

नेपालमा लोप हुन लागेका भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ प्रजातिलाई चिडियाखानामा संरक्षण गरी प्रदर्शनीमा राखिएको छ । चिडियाखानाले अन्य देशका चिडियाखानासँग पशुपक्षी आदानप्रदान कार्यक्रम चलाएर अष्ट्रिच, जल गैँडा र बाह्य प्रजातिका पक्षी ल्याएर प्रदर्शनमा राखेको छ । वन्यजन्तुहरुलाई वातावरण अनुकूल हुने खोर निर्माण गरिएको भए पनि ठाउँ अभावमा ठूला वन्यजन्तुलाई साँघुरो हुँदै गएको चिडियाखाना प्रमुख रचना शाहले बताउनुभयो । उहाँले भन्नुभयो, 'वन्यजन्तुहरुलाई वातावरण अनुकूल हुने खोर निर्माण त गरिएको छ, तर पनि गैँडा, भालु, बाघलगायतका ठूला वन्यजन्तुलाई ठाउँ अभावमा केही साँघुरो भएको छ ।'

चिडियाखानामा प्राकृतिक बासस्थान जस्तै नभएपछि कृत्रिम वातावरण निर्माण गरेर वन्यजन्तुको व्यवस्थापन भइरहेको प्रमुख शाहले जानकारी दिनुभयो । चिडियाखानाका वन्यजन्तुलाई नियमित रुपमा दिइने पोषण तथा खाना भने अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै दिइने गरेको चिडियाखाना प्रशासनले जनाएको छ । मांसाहारी जीवहरुलाई राँगाको र कुखुराको मासु तथा केही जीवलाई माछा दिइने गरिएको बताइएको छ । भालुलाई दूधसँगै ब्रेड पनि दिन थालिएको छ ।

चिडियाखानामा राँगाको दैनिक ३७ केजी, कुखुराको मासु १० केजी र माछा ५ केजी वन्यजन्तुहरुलाई खुवाइने गरिएको बताइएको छ । यस्तै १४ लिटर दूध प्रयोग हुने गरेको छ । पोथी बाघलाई ५ केजी, भालेलाई ६ केजीका दरले दैनिक रुपमा राँगाको मासु दिइने गरिएको चिडियाखाना प्रशासनको दाबी छ । जलगैँडा, अर्ना, मृग, हात्तीजस्ता शाकाहारी जीवजन्तुलाई फलफूल, चोकर, घाँस, दाना, पीठो दिने गरिएको छ । चिडियाखानाको क्षेत्रफल सानो र जोडी समस्याका कारण बाघ, भालु, वनमान्छे, घडियाल गोही, चाइनिज एलिगेटर, जलगैँडा (हिप्पो), एकसिङ्गे गैँडा, हात्तीलगायतको सङ्ख्या बढ्न नसकेको बताइएको छ । चिडियाखानाले सयभन्दा बढी घाइते, समस्याग्रस्त, अनाथ र चोरी शिकारीमा परेका जिवजन्तु उद्धार गर्ने गरेको छ ।

१९८९ सालमा तत्कालीन राणा प्राधानमन्त्री जुद्ध शम्शेरले निजी प्रयोजनका लागि स्थापना गरेको चिडियाखाना २००७ सालपछि यसको स्वामित्व नेपाल सरकारले लिएको थियो । २०५२ साल पुस १४ मा स्व.राजा वीरेन्द्र शाहको स्वर्ण शुभजन्मोत्सवका अवसरमा चिडियाखाना व्यवस्थापनको जिम्मा तत्कालीन सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई दिएको हो । त्यसपछि सरकारका विभिन्न निकायले यसको व्यवस्थापन गर्दै आएका छन् ।

जावलाखेलमा रहेको सदर चिडियाखाना साँघुरो भएपछि सरकारले भक्तपुरमा रहेकाे सूर्यविनायकमा निर्माण प्रक्रियाको थालनी गरेको छ । सूर्यविनायकमा २ सय ४५ हेक्टर क्षेत्रफलमा ‘जीओलोजिकल गार्डेन’सहित चिडियाखाना बनाइँदै गरिएको प्रमुख शाहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया