सभामुख गठबन्धनकाे ‘बफादार कार्यकर्ता’ बन्दा संसद् प्रभावकारी भएन : पाेखरेल

 भदौ ३१, २०७९ शुक्रबार १८:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारूढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधि सभाको आफ्नो कार्यकाल प्रभावकारी हुन नसकेको उहाँको आरोप थियो । 

शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा वरिष्ठ उपाध्यक्ष पाेखरेलले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधि सभाले आफूले दिनुपर्ने 'डेलिभरी' दिन नसकेको टिप्पणी गर्नुभयाे । सभामुख सापकोटाको भूमिका प्रतिनिधि सभाको नेतृत्वको रूपमा दुःखद रहेको उहाँकाे भनाइ थियाे । उहाँले भन्नुभयो, ‘संसद्लाई प्रभावकारी बनाउने कुरामा विभिन्न किसिमका समस्याहरू देखा परे । जननिर्वाचित प्रतिनिधिमूलक संस्थाले प्रभावकारी ढङ्गले भूमिका खेल्नुपर्ने भए पनि त्याे हुन सकेन । प्रतिनिधि सभालाई नेतृत्व गर्ने पात्रहरूको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ । अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधि सभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रूपमा भूमिका खेल्नुभयो कतिपय अवसरमा । त्यो बडो दुःखद छ । त्यस कारणले यो प्रतिनिधि सभाले जे डेलिभरी दिनुपर्थ्याे त्यो प्रभावकारी ढङ्गले दिन सकेन ।’  

वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख सापकोटाकै कारण सरकारले गरेको काम, कारबाहीबारे नागरिकलाई सही सूचना दिने कामसमेत प्रतिनिधि सभाबाट हुन नसकेको गुनासो गर्नुभयो । उहाँले आफ्नो पार्टीले भने सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा पनि संसद्को भूमिकालाई सशक्त बनाउन सक्दो प्रयास गरेको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया