अर्थतन्त्र चलायमान बनाउन सक्दाे प्रयास गरिरहेका छाैँ : प्रधानमन्त्री देउवा

 असोज ४, २०७९ मंगलबार १७:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । 

मङ्गलवार काठमाण्डाैमा भएको नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । स्वास्थ्य पूर्वाधार सेवाको विस्तार र सुदृढीकरण गरी अहिले देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो । सबैको समन्वयबाट कोभिड–१९ र डेङ्गीलाई नियन्त्रण गरी देशलाई सामान्य अवस्थामा फर्काउन सफल हुने उहाँकाे विश्वास छ । 

उहाँले भन्नुभयो, ‘एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका, सामाजिक–आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ । सरकारले स्वास्थ्य पूर्वाधार सेवाको विस्तार र सुदृढीकरण गरी अहिले देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ । साथै सबैको समन्वयबाट कोभिड र डेङ्गीलाई नियन्त्रण गरी देशलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछाैँ भन्ने विश्वास लिएका छौँ ।’

प्रधानमन्त्री देउवाले सरकारले सुरुदेखि नै जनस्वास्थ्यका मापदण्डको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीको आपूर्ति/वितरण र कोभिड १९ र डेङ्गी रोगका बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताउनुभयो । उहाँले कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेङ्गी रोगबाट पीडित हुन पुगेको भन्दै कोरोना र डेङ्गीबाट निधन भएका नागरिकप्रति श्रद्धाञ्जली पनि अर्पण गर्नुभयो ।

प्रधानमन्त्री देउवाले विज्ञहरूको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनै पनि समस्या समाधानका लागि सामूहिक प्रयत्न र सहकार्यको आवश्यक्ता गर्ने उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया