कपाल काटेरै भरतपुरमा ३ तले घर !

 असोज ५, २०७९ बुधबार २०:३२:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – कुनै काममा निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण चितवनका सुरेश ठाकुरले देखाउनुभएको छ । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाउनुभएको हो । कपाल काटेरै उहाँले भरतपुरमा तीन तलाको घर बनाउनुभएको छ । 

त्यसो त उहाँका एक छोरा चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । कलैयाको देउताल गाउँपालिका ४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लाग्नुभएको हो । स्थानीयस्तरमा काम सिकेर ६ महिना उहाँले भारतको दिल्ली पुगेर तालिम लिनुभएको हो । 

विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको शटरमा उहाँले कपाल काट्न सुरु गर्नुभयो । त्यति बेला उहाँको उमेर १८ वर्षको थियो । उहाँले भन्नुभयो, ‘म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।’ २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उहाँ अहिले केही पर सर्नुभएको छ ।

यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उहाँ सम्झनुहुन्छ । त्यति बेला दाह्री र कपाल काटेको १० रुपैयाँ लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर एक सय ७० रुपैयाँ पुगेको छ । त्यति बेला दैनिक ५० जनासम्मको दाह्री कपाल काटेको उहाँलाई अनुभव छ ।

अहिले यो सङ्ख्या ३०–३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उहाँमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसक्नुभएको थियो । सन्तान हुर्कँदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किन्नुभयो । त्यही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थाल्नुभएको छ । कान्छो छोराले भारतको चण्डीगढबाट सीए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गर्नुभएको छ । उहाँका छोरी कक्षा १२ पढ्दै हुनुहुन्छ । अहिले पनि निरन्तर कपाल काट्दै आउनुभएका ठाकुर मेहनत गर्‍यो भने यही कमाइ हुने बताउनुहुन्छ ।
जीवनको झन्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भन्नुभयो, ‘मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।’ कर्मथलो चितवन बनाउनुभएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोवास भरतपुर बनेको हो । अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनुनपर्ने उहाँ बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया