संविधानकाे दायराबाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति पुन

 असोज ५, २०७९ बुधबार १५:५६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानकाे प्रमुख पालक र संरक्षकबाट नै संविधानकाे पालना र संरक्षण हुन नसकेकाे भनी आवाज उठ्नु ज्यादै दुःखद पक्ष भएकाे बताउनुभएकाे छ । 

दुवै सदनबाट पास भएकाे नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उपराष्ट्रपति पुनकाे यस्ताे भनाइ आएकाे हाे । उहाँले आज दिउँसाे वक्तव्य निकालेर भन्नुभएकाे छ, ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालना र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएकाे पनि बताउनुभयाे । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालना र संरक्षण गर्न उहाँकाे आग्रह छ । ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ ।’

सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको अवसरमा यही असोज ३ गते संविधान दिवस हर्षोल्लासका साथ मनाइएको जनाउँदै उहाँले संविधान दिवसका अवसरमा सबैले संविधानको पालना र संरक्षण गर्ने भनी दोहोर्‍याएकाे प्रतिबद्धताको स्मरण पनि वक्तव्यमा गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया