दशैँका लागि तीन सय सुविधाजनक बस थप्दै व्यवसायी

 असोज ६, २०७९ बिहिबार ९:३०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - यातायात व्यवसायीले दशैँका लागि तीन सय नयाँ बस थप्ने भएका छन् । व्यवसायीले दशैँका लागि एसी सुविधा भएका डिलक्स बस थप्न लागेका हुन् । थपिएका यी बस काठमाण्डौ हुँदै लामो दूरीमा चल्ने छन् । यस्तै, केही बस भने पूर्व पश्चिम चल्ने छन् ।

दशैँका लागि थपिएका तीन सय नयाँ बस देशभर चल्ने यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । विशेषगरी यात्रुको बढी चाप भएका ठाउँमा थपिएका बस चलाउने उहाँले जानकारी दिनुभयो । दशैँमा ओहोरदोहाेर गर्ने यात्रुको चाप धेरै हुन्छ । त्यसकै लागि व्यवसायीले बस थप्न लागेका हुन् । तर, बस थपे पनि यसपालिको दशैँको यात्रा सहज नहुने आशङ्कामा व्यवसायी चिन्तित छन् । मनसुन नसकिएको र पानी पनि परिरहेकाले यात्रा कष्टकर हुने अनुमान छ ।

वर्षाका कारण बिग्रिएका सडक मर्मत भइसकेका छैनन् । त्यसैले सडककै कारण यात्रा असहज हुने सम्भावना छ । सडककै कारण गाडी बिग्रने र समयमा नै फर्किन नसक्ने हुँदा समस्यामा परेको उहाँले बताउनुभयो । अहिले सबैभन्दा धेरै जोखिम पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा छ ।

सडक फराकिलो र कालोपत्र गर्ने ठेक्कामा लगाएको दुई वर्ष भए पनि अहिलेसम्म सडक चौडा पार्ने काम सकिएको  छैन । धेरैजसो पिच भत्किएको छ । खाल्डाखुल्डी सडकमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुँदा यात्रा कष्टकर छ ।

व्यवसायीले सडकको अवस्थाबारे सडक विभाग र गृहमन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् । सडक विभागले दशैँका लागि सकेसम्म सडक मर्मत गरिसक्ने तयारी भएको जनाएको छ । दशैँका लागि अहिलेसम्म २० हजारभन्दा धेरैले अग्रिम टिकट बुकिङ गरेका छन् ।

गएको १ गतेदेखि अग्रिम टिकट बुकिङ खुलेको हो । दशैँमा २० लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया