अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी

 असोज ८, २०७९ शनिबार ६:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा गएराति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

जितसँगै ३ खेलको टी–२० शृङ्खलामा एक/एकको बराबरी भएको छ । वर्षाका कारण मैदान भिजेपछि प्रभावित भएको खेल आठ ओभरमा झारिएको थियो । पाहुना टोली अस्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ४६ रन बनाए ।

विराट कोहलीले ११ तथा केएल राहुलले १० रन जोडे । दिनेश कार्तिक १० रनमा अविजित रहे । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो ।

अस्ट्रेलियाका म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले ३१ तथा स्टेभन स्मिथले ८ रन बनाए । भारतका लागि अक्षर पटेलले २ तथा जस्प्रित बुमराहले १ विकेट लिए । पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि हुनेछ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया