रुकुम पश्चिम : अवरुद्ध सडक नबन्दा कैदीलाई अस्पताल र अदालत पुर्याउन समस्या

 असोज ८, २०७९ शनिबार १०:०:१९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ मा रहेको खलङ्गा–कारागार–पिपलनेटा सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेकाे छ । वर्षाका कारण असार अन्तिम हप्तादेखि याे सडक खण्ड अवरुद्ध भएकाे हाे ।

सडक अवरुद्ध भइ गाडी चल्ने अवस्था नभएपछि कारागारमा रहेका कैदीहरुलाई अस्पताल र अदालत लैजान निकै समस्या भएकाे कारागार कार्यालयका प्रमुख अकवीर घर्तीले बताउनु भयाे । 

‘कैदीबन्दीहरु बिरामी हुँदा गाडीमा लैजानलाई बाटो छैन’, घर्तीले भन्नुभयो, ‘स्टेचरमा बोकेर अस्पताल दौडाउनुपर्ने बाध्यता छ, रातिमा बिरामी हुँदा झन् चुनौती हुने गरेको छ ।’ 

कैदीहरुलाई हिँडाएरै अदालत लैजानु पर्ने अवस्था छ । कारागार कार्यालयबाट रुकुम अदालत एक किलोमिटर र जिल्ला अस्पताल करिब तीन किलोमिटरकाे दूरीमा रहेकाे छ । हिँडाएरै लामो दूरीसम्म कैदीहरुलाई लैजानुपर्ने भएकाले सुरक्षा चुनौती रहेकाे प्रहरीहरु बताउँछन् । कार्यालय जाने सडक ठप्प हुँदा कारागार कार्यालयको गाडी जिल्ला प्रशासन कार्यालयमा राख्नु परेको कार्यालयले जनाएको छ । 

वर्षातमा आएको भलको कारण यस सडक खण्डमा चिरा परेको छ । मुसीकोट नगरपालिका-१ को बराहाटाकुरादेखि कारागारसम्मको बाटोमा नाला नहुँदा सडकबाटै पानीकाे भल बग्ने गरेको छ ।

खलङ्गा बजारको नाला समेत यही सडक खण्डमा मिसिएका कारण पैदल हिँड्न गाह्राे भइरहेको स्थानीय रविलाल नेपालीले बताउनुभयो । सडक अवरुद्ध भएको लामो समय भइसक्दा पनि सम्बन्धित निकायले कुनै पनि चासो नदिएको नेपालीकाे गुनासाे छ । सडक अवरुद्ध भएपछि खलङ्गा बजारबाट कारागार हुँदै पिपलनेटा जाने यात्रु तथा गाडी मुसीकोट नगरपालिका-५ सेरिगाउँ पुगेर घुम्नुपर्ने बाध्यता छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया