डेङ्गीको सङ्क्रमण तत्काल रोक्ने गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न डाक्टरको सुझाव

 असोज ९, २०७९ आइतबार ७:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपालमा फैलिएको डेङ्गीको सङ्क्रमण तत्काल रोक्ने गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न डाक्टरले सुझाव दिएका छन् ।

सङ्क्रमण बढेसँगै अहिले हरेक अस्पतालका शय्याहरू डेङ्गीका बिरामीले भरिएको डाक्टरको भनाइ छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार एकै परिवारका सदस्य पालैपालो अस्पताल पुग्ने गरेका छन् । अब पनि सरकार गम्भीर बनेर समयमै नियन्त्रणतर्फ नलागे ठूलो समस्या निम्तन सक्ने उहाँको भनाइ छ ।

लामखुट्टे मार्ने गरी धुवाँको प्रयोग गर्न सकिने, घरघरमा सरसफाइकाे चेतना बढाउनुपर्नेमा डाक्टरको जोड छ । डेङ्गी नियन्त्रण गर्न तीन तहका सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयले गम्भीरताका साथ खटिन डाक्टरको सुझाव छ।

सरुवा रोग विशेषज्ञ डा. गरिबदास ठाकुरले जनचेतना अभिवृद्धि गरेर, सरकारले विज्ञहरूको सल्लाहमा अघि बढेमा प्रकोप नियन्त्रण गर्न सकिने बताउनुभयो । नेपालमा डेङ्गीको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २९ जना पुगेको छ।

देशका ७६ जिल्लामा फैलिएको डेङ्गीबाट २२ हजार ९ सय ८८ जना सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकोले डेङ्गीबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने डाक्टरहरुको सुझाव छ।

डेङ्गी भाइरसले सङ्क्रमण भएका मानिसको शरीरबाट आउने गन्धले लामखुट्टेलाई आकर्षित गर्ने गरेको समेत पाइएको छ । विश्वभरि हरेक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुन्छ । यो भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउँछ, शरीरमा डाबर देखा पर्न सक्छ र टाउको तथा पूरै जीउ दुख्न सक्छ । केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जिउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन् । डेङ्गी विरुद्ध डेङ्भ्याक्सिया नामको खोप उपलब्ध छ।

विश्वका झन्डै २० देशमा प्रयोगका लागि मान्यता पाएको खोप नेपालमा भने आइसकेको छैन।     

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया