देशभर रुट परमिट खुला, बीमा र यान्त्रिक परीक्षण नभएका गाडीले रुट परमिट नपाउने

 असोज १०, २०७९ सोमबार ७:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ ।

दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ ।

आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाण्डाै उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

काठमाण्डौसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्न भनिएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ । 

हिजो भक्तपुरको जगातीमा यान्त्रिक परीक्षणका क्रममा अवस्था ठीक नभएका २७ वटा भाडाका गाडीलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १२ वटा गाडीलाई नियन्त्रणमा लिएको छ ।    ह्यान्ड ब्रेक नभएका, लाइट नभएका, टायर धेरै खिइएका गाडीका चालकलाई कारबाही गरिएको हो ।

नियन्त्रणमा लिएका १२ गाडीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिरिने मात्रै नभइ उपत्यकाभित्रै चल्ने गाडीलाई लक्षित गरेर सुरक्षा जाँच बढाउन लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकामा दशैँका बेलामा सडक खाली हुँदा चालकले तीव्र गतिमा गाडी चलाउने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता प्रवृत्ति देखिएकाले थप सुरक्षा जाँच गर्न लागिएको कार्यालयले जनाएको छ । यस्तै, आजदेखि छतमा यात्रा गर्न नदिन, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिन र चालकले जाँडरक्सी खाएर गाडी चलाएको छ/छैन भनेर कडाइका साथ जाँच हुँदैछ । यस्तै, यात्राका क्रममा कुनै समस्या परेमा प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर गुनासो टिपाउन यात्रुलाई प्रहरीको अनुरोध छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया