मनास्लुमा हिमपहिराे (अपडेट) : १ जनाकाे ज्यान गयाे, घाइते २ जनाकाे हेलिकप्टरबाट उद्धार

 असोज १०, २०७९ सोमबार १९:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गोरखाको मनास्लु हिमालमा गएको हिमपहिरोमा परि एक जनाको ज्यान गएको छ । हिमपहिरोमा परि घाइते भएका १५ जनामध्ये एक जनाको ज्यान गएको जानकारी प्राप्त भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो ।

घाइते भएका सबैलाई तेस्रो शिविरमा लगिएकोमा त्यहाँबाट दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । बाँकीको उद्धार गर्ने प्रयास गरिएको भए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको निर्देशक खतिवडाले बताउनुभयो । १० जनाको अवस्था सामान्य छ ।

तेस्रो शिविरमा हिमपहिरोको जोखिम नभएको र त्यहाँ खान, बस्न तथा प्राथमिक उपचारको व्यवस्था भए पनि थप उपचारका लागि उद्धार आवश्यक पर्छ । उद्धारका लागि तीन वटा हेलिकप्टर र उद्धारकर्मीहरू सामा गाउँमा तयारी अवस्थामा रहेका पनि निर्देशक खतिवडाले बताउनुभयो ।

यसैबीच आजै मनास्लु हिमालमा एक जना विदेशी नागरिक हराएका छन् । तर उनी हिमपहिरोमा परेर नभइ 'स्की' खेल्ने क्रममा खोँचमा फसेर हराएका पर्यटन विभागका निर्देशक खतिवडाले बताउनुभयो ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद् ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल आरोहणका लागि ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् । 

फाइल फाेटाे : पूर्णिमा श्रेष्ठकाे फेसबुकबाट

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया