'नालापानी' को ट्रेलर सार्वजनिक

 असोज १३, २०७९ बिहीबार १८:१०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली ऐतिहासिक चलचित्र 'नालापानी' को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सन् १८१४ मा देहरादुनकाे नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँमा आधारित भए चलचित्र निर्माण गरिएकाे हाे ।

ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई देखाइएको छ । दुई मिनेट ४१ सेकेन्ड लामाे ट्रेलरमा अङ्ग्रेजसँगको लडाइँका क्रममा देखाइएका दृश्य वास्तविक लाग्छन् । ट्रेलर हेर्दा घमासान युद्ध र ऐतिहासिक कथावस्तुमा बनेका फिल्म मन पराउने दर्शकलाई 'नालापानी' ले आकर्षित गर्नसक्ने देखिन्छ । 

तिहारको छेको पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर, नाै वर्ष लगाएर चलचित्र बनाएकाे बताए । चलचित्रले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले चलचित्र सम्बद्ध सङ्घ–संस्था तथा राज्यसँग अपिल गरे ।  उनले नालापानी एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एक पटक हेरिदिन पनि आग्रह गरे ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले ट्रेलरका दृश्यहरू हेर्दा आफू पनि त्यो युद्धमा सिपाहीको रूपमा कतै लडाइँ लडिरहेको हो कि भन्ने महसुस भएको बताए । राज्यले समेत विशेष चलचित्र भनेर उद्घोष गरिसकेको चलचित्रलाई एक हप्ता सोलो रूपमा चल्न दिनुपर्ने उनकाे भनाइ छ । 

कार्यक्रममा नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले 'नालापानी' ले चलचित्र विकास बोर्डबाट विशेष सम्मान पाएकाले सोलो रिलिजको अवसर प्रदान गर्नु सबैको दायित्व रहेको बताए । चलचित्रलाई चलचित्र विकास बोर्डले मात्रै नभइ सबैले सहयोग गर्नुपर्ने उनले बताए ।  

चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको 'नालापानी' को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित 'नालापानीका नायक वीर बलभद्र' पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा. डा. सुरेन्द्र केसी, पूर्वसहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक 'सैनिक इतिहास' लगायतका पुस्तकमा आधारित रहेर नालापानी तयार पारिएको हो । 

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, गायत्री घिमिरेलगायतको अभिनय छ ।

चलचित्रमा भीएफएक्स अच्युत गजुरेल, छायाङ्कन रामशरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कविराज गहतराज, सङ्गीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतीले रचना गरेका चलचित्रका गीतमा राजेशपायल राई, मेलिना राई र रानी शाक्यकाे स्वर रहेको छ । नालापानीका एसाेसियट निर्माता सपनकुमार थापा, सह–निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया