समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर कांग्रेसभित्रकाे विवाद तत्कालका लागि अन्त्य

कोइराला पक्षका नेताको नाम समेटेर निर्वाचन आयोगमा सूची पेस

 असोज १६, २०७९ आइतबार १४:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर नेपाली कांग्रेसभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज आइतवार बसेको शीर्ष नेताहरूको बैठकले शेखर कोइराला पक्षलाई पनि सम्मानजनक स्थान दिने निर्णय गरेपछि विवाद समाप्त भएको हो ।

विवाद सकिएपछि नेपाली कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिनुभयो । बन्दसूची संशोधन गर्ने आज अन्तिम दिन भएकाले हिजो शनिवार राति अबेरसम्म शीर्ष नेताहरूले सहमतिको खोजी गरेका थिए ।

शेखर कोइराला पक्षले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफू पक्षका नेताको नाम निकै कम रहेको भन्दै विद्रोह गर्ने चेतावनी दिएपछि सभापति देउवा सूची सच्याउन तयार हुनुभएको हो । कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री तथा सभापति देउवाकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य आरज' राणा देउवा, गृहमन्त्री बालकृष्ण खाणकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य मञ्जु खाण, प्रवक्ता प्रकाशशरण महत, पदाधिकारीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेता विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव, अनील रुंगाटालगायतको नाम थियो ।

यसैबीच नेकपा माओवादी केन्द्रले पनि बन्दसूचीमा सामान्य संशोधन गरेर आयोगमा उम्मेदवारको नामावली बुझाएको महासचिव देव गुरुङले जानकारी दिनुभयो । एमालेले पनि सामान्य संशोधन गरेको छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया