‘दशैँको मौकामा मेरी उनीको आँशु पुछ्ने मन थियो तर अधुरै रह्यो !’

 असोज १६, २०७९ आइतबार १६:१५:२ | सुजता सुनुवार
unn.prixa.net

वैदेशिक राेजगारीमा रहेका बुद्धिराज, राजु र तिलक

काठमाण्डौ – झापाको बुद्धशान्ति गाउँपालिका ४ का बुद्धिराज लिम्बु उमेरले ५१ वर्ष लाग्नुभयो । २८ वर्षको उमेरमा परदेशिनुभएका उहाँको २३ वर्ष उतै बितिसके । बाँकी रहेका नौ वर्ष पनि परदेशमै बिताउने सोच छ उहाँको । ६० वर्षको हुँदासम्म नेपालीले परदेशमा श्रम बेच्न पाउँछन् । बुद्धिराज यो अधिकार प्रयोग गर्ने सोचमा हुनुहुन्छ । 

परदेश बसाइको २३ वर्षमा दुई वर्षमात्रै नेपालमा परिवारसँगै दशैँ मनाउन पाउनुभएका उहाँको २१ वर्षको दशैँ परदेशमै बसेर बित्यो । पोहोरदेखि नै यस वर्ष भने नेपालमै दशैँ मनाउँछु भन्दै बनाएको योजना पूरा हुन नपाउँदै अधुरै रह्यो । उहाँ भन्नुहुन्छ, ‘परदेश गएर सम्पर्कविहीन बनेको जेठो छोरोको यादमा मेरी उनी रोइरहन्छिन्, दशैँ छुट्टीको मौकामा मेरी उनीको आँशु पुछ्ने मन थियो तर अधुरै रह्यो ।’

बुद्धिराजको जेठो छोरो दुर्गा लिम्बु दुबई गएको तीन वर्ष भयो । बेला–बेला सम्पर्कमा आउने उहाँ तीन महिना भयो सम्पर्कविहीन बन्नुभएको । बुद्धिराज गुनासो गर्दै भन्नुहुन्छ, ‘कम्पनीले भनेजति पैसा नदिएपछि इलिगल भएर काम गरिरहेका उनको नम्बरमा कल गर्दा लाग्दै लाग्दैन । छोरो तिमी जहाँ भए पनि एक पटक सम्पर्कमा आइदेउ उहाँ उज्यालोसँग कुरा गर्दै आग्रह गर्नुहुन्छ ।’

छोरो सम्पर्कविहीन भएपछि बुद्धिराजकी श्रीमती सुकमाया हरेक दिन फोन सम्पर्कमा रुनुहुन्छ । फोनमा बात भएको कुरा सुनाउँदै उहाँ भन्नुहुन्छ, ‘मारेर फ्याक्यो कि क्या हो ? न कल आउँछ ? न केही खबर नै । तपाईँ छोरोको वास्तै गर्नुहुन्न के । उनी यसै भन्छिन् र कुराकानीका क्रममा हरेक दिन रुन्छिन् ।’ समस्या समाधानको कुनै विकल्प नै नभेटेपछि बुद्धिराज भन्नुहुन्छ, ‘अब म के गरुँ ? कल ग¥यो लाग्दैन । म कतारमा छु ऊ दुबईमा । मेरो के लाग्छ ?’

फाइल फाेटाे, बुद्धिराज र सुकमाया

दशैँ छुट्टीमा घर आएर सुकमायालाई सम्झाउने उहाँको ठूलो धोको थियो । अनि बेखबर छोरोलाई विभिन्न निकायको सहयोग मागेर खोज्न पनि, तर छुट्टी नै मिलेन । अनि मनको धोको पनि पूरा हुनै पाएन । फोनबाट सम्झाउँदा सुकमायाको मन कसरी मान्थ्यो र ? भेटेरै सम्झाउँदा लाग्थ्यो कि कतै ? तर बुद्धिराजका लागि यो मौकै मिलेन । किन कि उहाँ कतारको वकिलमा रहेको ‘युसीई लिमिटेड बिल्डिङ्ग कन्ट्रक्शन’ नामक कम्पनी हाकिमको निगरानीमा चल्नुपर्छ । 

उहाँमात्रै होइन बिर्तामोड नगरपालिका ७ का राजु श्रेष्ठ पनि उसैगरी चल्नुपर्छ । कतारको अबुसाम्रामा रहेको बिआरके ट्रान्सपोर्ट कम्पनीका हाकिमले उहाँलाई दशैँमा छुट्टी दिन्छु भने पनि अहिले भने छुट्टी दिएनन् । कम्पनीमा काम गर्ने जनशक्ति कम भएकाले एक महिनाअघि दिएको छुट्टीको निवेदन पास भएन । चार वर्षपछि बल्ल–बल्ल नेपाल आउने राजुको ठूलो धोको थियो । तर पूरा भएन । उहाँ जिम्मेवारीले थिच्यो नि भन्दै भन्नुहुन्छ, ‘परदेश आइयो, चार वर्षपछि घर जाने योजना बनाएको तर पूरा नै भएन ।’

राजु श्रेष्ठ काम गर्दै

राजुले नेपालमा पनि गाडी नचलाएको होइन । तीन वर्ष नेपालमा नै गाडी चालकका रूपमा काम गर्नुभयो । महिनामा ६० हजार रुपैयाँ त कमाएकै हो । कमाइ भयो तर बचेन । अन्ततः कमाइ र बचतका लागि राजु फेरि उसैगरी परदेश लाग्नुभयो । यो वर्षको दशैँमा आमालाई बुहारी साथी ल्याइदिने राजुको सोच थियो । तर छुट्टी मिलेन । यसरी छुट्टी नमिल्दा मनका कति रहरहरू गुमनाम भएर जान्छन् । 
१८ वर्ष पहिले मलेसिया जानुभएका उहाँ अहिले कतारमा हुनुहुन्छ । दुई वर्ष नेपालमा दशैँ मनाउन पाउनुभएको उहाँको १६ वर्षको दशैँ परदेशमै बित्यो । 

उहाँको जस्तै कथा छ, चम्पादेवी गाउँपालिका १ ओखलढुङ्गाका तिलक मगरको पनि । १४ वर्ष अगाडि परदेश जानुभएका उहाँले पनि दुई वर्षमात्रै परिवारसँगै बसेर दशैँ मनाउन पाउनुभयो । बाँकी सबै वर्ष परदेशमै बिते ।  

तिलक मगर ड्युटीमा

साउदीको जेद्दामा रहेको एसीटोल्के कम्पनीका मालिकका नाममा तिलकले पनि बिदाका लागि निवेदन पेस गर्नुभएको थियो । अरूको जस्तै गरी उहाँको पनि बिदा स्वीकृत भएन । उहाँ भन्नुहुन्छ, ‘मलाई मात्रै होइन, यो साल हामी कसैलाई पनि बिदा दिएनन् ।’ 

भाग्यले बचेको जिन्दगी

बुद्धिराज विदेशमा गाडी चालकका रूपमा काम गर्दागर्दै दुर्घटनामा पर्नुभयो । आठ वर्ष अगाडिको कुरा हो, उहाँले चलाउने पानीको ट्याङ्करलाई सडकको छेउमा रोकेको अवस्थामा पछाडिबाट ट्रकले हान्यो । गाडी पल्टिएर सडकमुनि पुग्यो । भाग्यले बुद्धिराजलाई भने केही भएन । उहाँ भन्नुहुन्छ, ‘मैले पेटी बाधेको थिएँ, यसले पनि मलाई सुरक्षित राख्यो ।’ गाडीको पछाडिको भागको सिसा फुट्यो । हातमा सामान्य चोट लाग्यो । तर खास असर भने केही भएन । 

‘भाग्यमानीको भूतै कमारो’ भन्ने उखानजस्तै भइदियो त्यो पल उहाँका लागि । दुर्घटनामा परेपछि कम्पनीले गरेको हेरचाह आज सम्झँदा पनि बुद्धिराजलाई आनन्द लागेर आउँछ । किन भने चोट सामान्य भए पनि उपचारमा एकदमै धेरै ख्याल गरिएको थियो । कतारकै सबैभन्दा ठूलो अस्पताल 'अहमत' अस्पतालमा तीन पटकसम्म भिडियो एक्सरे गरेर जाँच गरिएको थियो । 

बुद्धिराज मात्रै होइन राजु पनि चार महिना अगाडि गाडी दुर्घटनामा पर्नुभयो । उहाँ आफैँ पनि ट्रक चालक । तर उहाँ बायाँतर्फ जान बाटो काट्ने क्रममा अर्को ट्रक आएर हानिदियो र गाडी दुर्घटना भयो । हात र खुट्टामा गहिरो चोट लाग्यो । दुई महिना त उहाँको उपचारमै बित्यो । उहाँ भन्नुहुन्छ, ‘धन्न भाग्यमानी भएकाले बाँच्न पाइयो ।’

गाउँघर पुर्‍याइदिनु ल परदेशीको सन्देश !

बुद्धिराजकी श्रीमती सुकमाया हरेक दिन औषधिकै भरमा आफूलाई सामान्य मान्नुहुन्छ । औषधि खाएन भने दुखाइ बढेर जान्छ । दुई वर्ष अगाडि घरको माथिल्लो तलाबाट खस्दा  खुट्टा भाँचियो र शल्यक्रिया गर्नुपर्‍याे । अहिले औषधिकै भर छ । हिँडडुल गर्न सहारा चाहिन्छ । घरसम्म सन्देश पु¥याइदिनु है भन्दै बुद्धिराज भन्नुहुन्छ, ‘छुट्टी मिल्यो भने दुई महिनापछि घर आउँछु, पीर–चिन्ता नलिइ दशैँ मनाउनु ।’ उहाँ थपमा आफ्नी उनीलाई सम्झाउँदै भन्नुहुन्छ, ‘म त मेरा लागि आफैँले ख्याल गर्न सक्छु, तिम्रो त अरूले गरिदिनुपर्छ, खान बल गर्नु ।’

राजु र तिलकको पनि बुद्धिराजको जस्तै सन्देश छ । छुट्टी मिल्यो भने उहाँहरू पनि दुई महिनापछि नेपाल आउनुहुन्छ । अनि आफ्नो परिवारसँगै बसेर रमाइलो गर्नुहुन्छ । र छुट्टी सकेर फेरि परदेशै लाग्नुहुन्छ । राजु, तिलक अनि बुद्धिराज त प्रतिनिधि पात्र न हुन् । चाडबाडका बेला यस्तै अधुरा योजना बोकेर पसिना बगाइरहने कैयन् नेपाली परदेशमा भेटिन्छन् । जसको कथा अनि व्यथा उस्ता–उस्तै । 

अन्तिम अपडेट: मंसिर ६, २०७९

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया