सुनसरीको चतरा आसपास ठूलो पानी परेपछि बाढीको चेतावनी, भोलिदेखि धेरै ठाउँमा वर्षा

 असोज १७, २०७९ सोमबार १४:४६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सुनसरी – सुनसरीलगायत पूर्वका जिल्लामा ठूलो पानी परेका कारण कोशी बेसीन क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर सुनसरीको चतरा र आसपासमा पछिल्लो एक घण्टामै ६० मिलिमिटर भन्दा बढी पानी परेको भन्दै कोशी बेसीन क्षेत्रमा बाढी आउनसक्ने चेतावनी दिएको हो ।

वर्षाका कारण सुनसरी र उदयपुर आसपास भएर बग्ने साना नदीहरुमा समेत पानीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ ।

नदीहरुमा जुनसुकै बेला पानी पर्न सक्ने भन्दै माहाशाखाले धरान चतरा सडकमा यात्रा गर्दा बढी सावधानी अपनाउन भनेको छ ।

सामान्यतया अक्टोबर दुई अर्थात हिजो नै नेपालबाट बाहिरिनुपर्ने मनसुन अझै केही दिन सक्रिय हुने भएको छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भोलिदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै पर्सी बुधवार अर्थात दशैँको टीकाको दिन देशभर बादल लागेर धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । बुधवार पश्चिमी क्षेत्रमा बढी पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहिवारदेखी मौसम सुधार हुन थाल्नेछ । मंगलवार र बुधवार यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस्तै अबका केही दिन धान नकाट्न र यदि काटेको भए आजसम्ममा भित्र्याइसक्न मौसमविद्हरुको आग्रह छ ।    
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया