पूर्वी नवलपरासीमा १ सय ४४ घर डुबानमा, दशैँ मान्न घर गएकाहरू फर्किन पाएनन्

 असोज २२, २०७९ शनिबार ७:१०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपुर – नारायणी नदी र अन्य खोलामा आएको बाढीका कारण पूर्वी नवलपरासीका एक सय ४४ घर डुबानमा परेका छन् । बाढीका कारण गैँडाकोटमा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर एक सय ४४ घर डुबानमा परेका पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताउनुभयो ।

उहाँका अनुसार लगातारको वर्षाले पहिरो खसेका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका बौदीकाली र बुलिङ्गटार जोड्ने दलदले–कुमसोत–पोखरी सडकको पाङ्ग्रेमा सडक बन्द भएको छ । गैँडाकोटबाट पहाडी क्षेत्र जोड्ने कालीगण्डकी काेरिडोरमा गएको पहिरोसमेत पन्छाउन नसक्दा त्यहाँ सडक पनि बन्द भएको प्रवक्ता पाठकले बताउनुभयो । पहाडी क्षेत्र जोड्ने मुख्य सडकहरू पहिरोले बन्द हुँदा सडक सम्पर्कबाट विच्छेद भएको छ ।

सडक सम्पर्कविच्छेद भएपछि दशैँ मान्न घर गएकाहरू फर्किन पाएका छैनन् भने बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नुपर्ने बिरामीहरू समस्यामा परेका छन् । पहाडी क्षेत्रलाई जोड्ने सडक बन्द भएपछि त्यस क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान–खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।

लगातार परेको पानीपछि खसेको पहिरोका कारण जिल्लाको बौदिकाली र बुलिङ्गटारमा दुई वटा घर र बुलिङ्गटारमा एउटा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाकै विनयी त्रिवेणी–१ बगुवनमा नारायणीमा आएको बाढी पस्दा दुई सय हेक्टर बढी पाक्न लागेको धानबालीमा पूर्णरूपमा क्षति पुगेको छ ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण नदी तटीय क्षेत्रको जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । गण्डक बाँधमा हिजो शुक्रवार बेलुका ८ बजे चार लाख १२ हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताउनुभयो । 

तस्बिर : जिल्ला प्रशासन कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्व    

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया