हजारौँ कृषि फार्महरु नगरपालिकाभित्र हुनेछन्, विदेशबाट युवा गाउँ फर्किनेछन्

 असोज ३०, २०७९ आइतबार १८:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

नगरपालिकाभित्र रहेका युवाहरु विदेश जाने क्रममा निकै समस्या देखियो । त्यसैले नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र सञ्चालन गर्‍याे । प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र भएपछि यो केन्द्रले विदेश जान लागेकालाई सुचना दिनेदेखि विदेशमा समस्यामा परेकाहरुलाई पनि सहयोग र समन्वय गर्ने काम गर्‍याे । यसो हुँदा वैदेशिक रोजगारीको समस्या र समाधान गर्ने एउटा माध्यम भयो ।

अब अर्को कुरा भनेको चाहिँ वैदेशिक रोजगारीमा श्रम र दुःखका कुराहरु भोगेर आएपछि त्यहाँको जति मेहनत यहाँ गरेपछि त्यति त कमाइ भइहाल्छ भन्ने धारणा बन्दो रहेछ । त्यसैले विदेशबाट फर्किएकाहरुलाई साझेदारीमा व्यवसाय सञ्चालन गर्ने गरि हामीले योजना अघि बढायौँ । त्यसमा नगरपालिकाले पनि सहयोग गर्ने र दातृ निकायले पनि सहयोग गर्ने गरि साझेदारीमा व्यवसाय गर्न लगाउने गरि नगरपालिकाले काम थाल्यौँ । विदेशबाट फर्केकाहरुलाई फेरि विदेश जानुपर्ने बाध्यता नहुने गरि काम गरिरहेका छौँ । देशमै स्वरोजगार बनेर व्यावसायिक बन्नको लागि उत्प्रेरित गर्ने काम हामीले गरेका छौँ । बैंकमा नगरपालिका ग्यारेण्टी बसेर र उनीहरुलाई पुँजी उपलब्ध गराउनेदेखि लिएर केही अनुदान नगरपालिकाले पनि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेका छौँ । 

अहिले हामीसँग नगरपालिकामार्फत एक हजार डलर दिने कार्यक्रम छ । त्यसमा दुई सय जना आबद्ध भएका छन् । अहिलेसम्म करिब एक सय जनालाई प्रत्येकलाई एक हजार डलर दातृसंस्थाबाट प्राप्त भएर हामीले बाँडिसकेका छौँ । 

एउटा व्यक्तिसँग जुन विषयको दक्षता छ र क्षमता छ त्यही क्षेत्रमा स्वरोजगार बन्नको लागि अभिप्रेरित गर्ने काम गरिरहेका छौँ । अहिलेसम्म हामीले विभिन्न सामाग्री अनुदान दिएका छौँ । जुन क्षेत्रमा व्यवसाय गर्न लागेका हुन् त्यहीअनुरुप हामीसँग भए नगरपालिकाबाटै र नभए किनेर भए पनि दिने गरेका छौँ ।

हामीले युवाहरुको दक्षता हेरेर क्लस्टर बनाउँछौँ । रोजगारदाता संस्थाहरुसँग बसेर उनीहरुको मागअनुसार दक्ष युवालाई रोजगारीमा आबद्ध पनि गर्न सक्छौँ । मेयर कृषि कार्यक्रम अन्तर्गत गाई पाल्ने, कुखुरा पाल्नेदेखि तरकारी खेती गर्ने प्राथमिकताका आधारमा व्यावसायिक बनाएर अगाडि बढाउनको लागि लागेका छौँ । यो आर्थिक वर्षमा हामी यी कामहरु गर्नेछौँ । 

अब हजारौँ कृषि फार्महरु नगरपालिकाभित्र हुनेछन् । त्यसको लागि सुरुमा हामीले केही अनुदान दिनेछौँ । व्यवसाय चलाउनेले वार्षिक रुपमा हामीलाई कर पनि तिर्नेछन् । त्यसले हाम्रो आन्तरिक राजश्वमा पनि योगदान पुग्नेछ । युवाहरु व्यावसायिक ढंगले अगाडि बढीरहेको अवस्था हुनेछ भन्ने हाम्रो सोच हो । त्यो गर्नको लागि हामी विभिन्न दातृ निकायदेखि लिएर हाम्रो स्रोतसाधनको तयारीमा लागिरहेका छौँ । यो कार्यक्रम सफल भयो भने एउटा उदाहरणीय काम हुनेछ । हाम्रा युवाहरु विदेशमा बसेर जति कमाउँछन् त्यति गाउँघरमै बसेर कमाउन सक्षम हुन्छन् भन्ने हामीलाई लाग्छ ।

उदाहरणको लागि, अहिले नगरपालिकाभित्र एउटा गाई फार्म छ । उहाँ वैदेशिक रोजगारीबाट समस्यामा परेर आउनुभएको थियो । अहिले उहाँले २०/२२ ओटा दुहुना गाई पाल्नुभएको छ । सुरुमा उहाँको दुई तीनओटा गाई थियो । त्यतिबेला काँधमा राखेर उहाँ दुध बेच्न जानुहुन्थ्यो । तर १५/२० वटा भएपछि समस्या हुन थाल्यो । अनि हामीले ट्याम्पो किनिदियौँ । अहिले त्यसैमा राखेर उहाँहरुले दुध बेच्न लिनुहुन्छ । दुईटा गाई छ भने चार ओटा बनाऔँ र चार ओटा भए आठओटा बनाऔँ भन्नेमा हामीले जोड दिँदै आएका छौँ । यसरी हामीले प्रात्साहन गर्ने हिसाबले अगाडि बढीरहेका छौँ । 

अहिले हामीले व्यवसायीहरुलाई सहज होस् भनेर फर्म दर्ता गर्नेदेखि राजश्व तिर्ने कुरामा सहुलियत गरिदिएका छौँ । दुईचार हजार रुपैयाँ वार्षिक रुपमा दिने कुरा छ । व्यवसायको लागि विज्ञ सेवा पनि दिँदै आएका छौँ । यस्तै, सीटीईभीटीसँग मिलेर तालिम पनि दिँदै आएका छौँ ।

फलफूलको खेती गर्ने भए पातले रिसर्च केन्द्रका वैज्ञानिकलाई बोलाउँछौँ । यस्तै धनकुटा एभोकाडोको राजधानी पनि हो । धनकुटाको एभोकाडो ब्राण्डेड भइसकेको छ । यस सम्बन्धी आवस्यक ज्ञान, प्रविधि हाम्रो देशमा रहेनछ । त्यसैले पाख्रीबास कृषि केन्द्रको वैज्ञानिकहरुसँग छलफल गरेर त्यो प्रविधि र ज्ञान हस्तान्तरण गर्ने काम गछौँ । यहाँ उपलब्ध भएनन् भने सीटीईभीटीदेखि लिएर अन्य ठाउँका कृषि विज्ञलाई बोलाएर हामी तालिम दिन्छौँ ।

यी कामको प्रभावकारिताका लागि हामी लागिरहेका छौँ । नगरभित्रको दुईसय जना रिटर्नी हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ । नगरपालिकाभित्रबाट विदेश गएका ६÷७ सयमध्ये दुई सय  जना आइसके । अरु बाहिर छन् । आएकाहरुले गरेको व्यवसायबाट विदेशमा रहेकाहरु पनि अभिप्रेरित हुनेछन् । र फर्केर यतै आउनेछन् र व्यवसाय गर्नेछन् ।

विदेशमा गए पनि राम्रो अवसरको लागि जाउन् भन्ने हाम्रो भनाइ हो । यहाँ ५० हजार रुपैयाँ कमाउनुहुन्छ र उता गएमा एक लाख रुपैयाँ कमाउनुहुन्छ भने जाउन् । तर यहाँ घरखेत बन्दकी राखेर, ऋण लिएर जाने अवस्थाको अन्त्य होस् भन्ने हाम्रो मान्यता हो । त्यस्तालाई हामी रोक्न चाहन्छौँ । यतै स्वरोजगार बनाउन चाहन्छौँ । त्यसैले हाम्रो यो नीति तथा कार्यक्रम देखाउनको लागि मात्रै होइन । नीति तथा कार्यक्रम देखाउनको लागि मात्रै गरे त के अर्थ हुन्छ ? पछि त जनताले प्रश्न गर्लान् नि ! मलाई, मेरो पार्टीलाई प्रश्न गर्लान् नि ! खाली सपना मात्र देखाउने काम नगर्ने गरेर राजनीतिक र व्यक्तिगत रुपमा मेरो छविमा आँच आउने काम हुँदैन ।

(धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङसँग गरिएको कुराकानीमा आधारित ।)
 

अन्तिम अपडेट: कात्तिक १, २०७९

तपाईको प्रतिक्रिया