आप्रवासी स्रोत केन्द्र : वैदेशिक रोजगारी सम्बन्धी सूचना र परामर्श पाइने ठाउँ

 कात्तिक ३, २०७९ बिहिबार १०:१३:४२ | संगीता रिजाल
unn.prixa.net

आफ्नो जीविकोपार्जनकै लागि भनेर देश छाडी कमाउन वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या धेरै छ । पछिल्लो समय त झन् यो सङ्ख्या बढ्दो छ । तर चिन्ता गर्नु पर्ने कुरा चाहिँ यो हो कि जो आफ्नो दैनिकी चलाउनकै लागि वैदेशिक रोजगारीमा जानुहुन्छ उहाँहरू कतिपय अवस्थामा पर्याप्त सूचना र जानकारी बिनै गइरहनुभएको छ ।

वैदेशिक रोजगारीमा जानेहरूसँग जति सूचना र जानकारी हुनुपर्ने हो त्यो नभएको पनि पाइन्छ कतिपय बेला । खास गरेर सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले काम गर्ने भनेको पनि उहाँहरूको यही अभावलाई पूरा गर्नका लागि हो ।

सामीले जोसँग काम गर्छ उहाँहरू कतिपय अवस्थामा विविध कारणले गर्दा “पर्याप्त” औपचारिक शिक्षाको पहुँच बाहिरका  व्यक्तिहरूसमेत पनि हुनुहुन्छ । त्यसले गर्दा कतिपय बेलामा उहाँहरूसँग सूचनामा  पहुँच छैन, कतिपय बेलामा चाहना गरेर पनि सूचना लिन पाइरहनुभएको हुँदैन, कहाँ जाने कसले आफूलाई चाहिएको सूचना र जानकारी दिन्छ भन्ने पनि थाहा नभएको हुन सक्छ । 

त्यस कारण जिल्ला प्रशासन कार्यालय भित्रै सामी कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र (एमआरसी) हरू स्थापना भएका छन् । सुरुवाती चरणमा सामी कार्यक्रमले सञ्चालन गरे पनि पछिल्लो समय स्थानीय सरकार आफैंले यो केन्द्रको सञ्चालन गरिरहनुभएको छ ।

स्थानीय सरकारले मेरो नागरिकका लागि मैले नै गर्नु पर्ने काम हो भनेर पनि स्थानीय सकार सञ्चालन ऐनले प्रदत्त गरेको अधिकार अनुसार वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा जानकारी दिन र सम्बन्धित सेवा तथा सुविधामा पहुँच पुर्‍याउनका लागि नै केन्द्रको सञ्चालन गरिरहनुभएको छ ।

सामी/हेल्भेटासजस्तो संस्थाले अहिले प्राविधिक सहयोग मात्र उपलब्ध गराइरहेको छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौता अनुसार नै सञ्चालन भएको कार्यक्रम हो । यो कार्यक्रम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा सञ्चालन भइरहेको छ । सरकारले पछिल्लो समय त स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै कार्यविधि नै समेत ल्याएको छ । 

वैदेशिक रोजगारीको सूचना र परामर्श 

वैदेशिक रोजगारी भन्ने बित्तिकै राहदानी त आवश्यक पर्छ नै । र यो बनाउन पनि व्यक्ति स्वयंम नै उपस्थित हुन पर्छ । त्यस हिसाबले जिल्ला प्रशासनमा नै यो केन्द्र हुँदा वैदेशिक रोजगारीमा जाने हेतुले नै राहदानी बनाउन आउनेहरूले कम्तीमा पनि राहदानी बनाउँदा नै वैदेशिक रोजगारी सम्बन्धी सूचना र जानकारी पाउन भनेर आप्रवासी स्रोत केन्द्रको स्थापना गरिएको हो । 

आप्रवासी स्रोत केन्द्रहरूले जिल्ला प्रशासन कार्यालयहरूमा यसरी समन्वय गर्नुहुन्छ कि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुग्नेहरू स्रोत केन्द्रमा पुग्नु नै हुन्छ । त्यसो हुँदा यदि तपाईँ वैदेशिक रोजगारीमा जाने हो भने चाहिँ यो यो प्रक्रिया अपनाएर यसरी जानुपर्छ भनेर स्रोत केन्द्रले जानकारी दिन्छ ।  यसका साथै उहाँहरूको सबै विवरण पनि टिपेर स्रोत केन्द्रले राख्छ ।

राहदानी बनाउन आएका व्यक्तिको वैदेशिक रोजगारीमा जाने प्रबल सम्भावना देखियो भने त्यस्ता व्यक्तिहरूलाई समुदाय स्तरमा आयोजना हुने समुदाय अभिमुखीकरणमा समेत सहभागी गराइन्छ । । अभिमुखीकरण गर्दा जाने व्यक्ति तथा वैदेशिक रोजगारीसँग सम्बन्धित घर परिवारका सदस्यलाई पनि सँगै राखेर सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी जानकारी दिइन्छ ।

आप्रवासी स्रोत केन्द्रहरूले जिल्ला प्रशासन कार्यालयहरूमा यसरी समन्वय गर्नुहुन्छ कि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुग्नेहरू स्रोत केन्द्रमा पुग्नु नै हुन्छ । त्यसो हुँदा यदि तपाईँ वैदेशिक रोजगारीमा जाने हो भने चाहिँ यो यो प्रक्रिया अपनाएर यसरी जानुपर्छ भनेर स्रोत केन्द्रले जानकारी दिन्छ ।

यदि समस्या पर्यो भने कहाँ कहाँ जाने, सीप तालिम किन लिनुपर्छ र त्यस्ता तालिम कहाँ उपलब्ध छन्, अन्याय पर्दा कहाँ जाने, मानसिक समस्या भयो भने कहाँ जाने भन्ने कुराहरू बताउने र ती सेवासँग जोड्ने काम पनि स्रोत केन्द्रले गर्छ । 

कार्यक्रम अन्तर्गत नै समुदायमा विदेशबाट फर्किएका व्यक्तिहरू स्वयंसेवकको रूपमा काम गरिरहनुभएको छ । उहाँहरूले गाउँ गाउँमा घरघरमा गएर यदि तपाईँ वैदेशिक रोजगारीमा जाने हो  भने सही सूचना र जानकारी लिएर मात्र जानुहोस् भनेर आफैं पनि जानकारी तथा सूचनाहरू दिनुहुन्छ ।

साथै आप्रवासी स्रोत केन्द्रले यो सूचना र सेवा प्रदान गर्छ र वैदेशिक रोजगारी सँग सम्बन्धित सेवा तथा सुविधासँग जोड्छ भनेर जानकारी गराउनुहुन्छ । 

सूचना र परामर्शसँग सँगै केन्द्रले उपलब्ध गराउने थप सेवा

सूचना र परामर्शसँग सँगै वैदेशिक रोजगारीसँग जोडिएका अन्य समस्यामा पनि श्रमिकलाई स्रोत केन्द्रले सघाउँछ । जस्तो कहिलेकाहीँ वैदेशिक रोजगारीको प्रक्रियाकै क्रममा पनि समस्यामा पर्न सकिन्छ । कतिपयको राहदानी होल्ड गरेर राखेको हुन्छ, कतिपयले विदेश जाने भनेर पैसा दिनुहुन्छ तर नपठाइदिँदा समस्यामा पर्ने हुन्छ ।

यस्तो बेलामा कहाँ जाने के गर्ने, कोसँग सहयोग माग्ने भनेर आप्रवासी स्रोत केन्द्रले सही जानकारी प्रदान गर्नुका साथै सामी कै राष्ट्रिय साझेदार संस्था पिपुल फोरममा पनि त्यस्ता केसहरू पठाएर कानुनी लडाइ लड्नका लागि समन्वयको काम गरिदिन्छ । व्यक्तिगत ठगीको केश छ भने प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिदिने काम पनि गर्छ ।  

सबै सेवाहरू स्रोत केन्द्रले निःशुल्क प्रदान गर्छ ।  तपाईँले स्रोत केन्द्रमा गएर यो सेवा लिए बापत कुनै पनि र कति पनि शुल्क तिर्न पर्दैन ।

वैदेशिक रोजगारीको विविध पक्षहरू छन् । कहिले काहीँ वैदेशिक रोजगारीको क्रममा व्यक्ति स्वंम र परिवारका सदस्य पनि मानसिक तनावमा पर्ने खालका समस्याहरू पनि छन् । यस्तो अवस्थामा पनि स्रोत केन्द्रले त्यस्तो खालको सेवासँग जोड्नु पर्ने छ भने केन्द्रले जोडिदिने काम गर्छ ।

मनोपरामर्शसँग सम्बन्धित काम गर्ने सामीको साझेदार संस्था सीएमसी नेपाल छ । उसले मनोपरामर्शकर्ताको प्रशिक्षण तथा उनीहरूले प्रदान गर्ने सेवाको गुणस्तर सुनिश्चित गर्छ ।  समुदायमा प्रशिक्षित मनोपरामर्शकर्ताहरुले काम गरिरहनुभएको छ ।

यदि समस्या लिएर स्रोत केन्द्रमा आउनुभयो भने यो सेवासँग तपाईँलाई जोडिदिने काम स्रोत केन्द्रले पनि गर्छ । कहिलेकाहीँ कतिपय व्यक्तिहरू वैदेशिक रोजगारीकै क्रममा अस्ताउनुहुन्छ । त्यस्तो बेला परिवारका सदस्यलाई आफ्नो मानिसको शव कसरी नेपाल झिकाउने भन्ने समस्या पर्छ । त्यो बेलामा स्रोत केन्द्रसम्म आउनुभयो भने केन्द्रले तपाईँको मानिसको शव झिकाउनका लागि पनि मद्दत गर्छ । 

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका बालबालिकाले वैदेशिक रोजगार बोर्डमार्फत पाउने छात्रवृत्ति लिनका लागि पनि स्रोत केन्द्रले समन्वयकारी भूमिका निर्वाह गरिदिन्छ भने वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले बोर्डमार्फत पाउने आर्थिक सहायता लिनका लागि पनि बोर्डसँग सहजीकरणको काम गरिदिन्छ ।

यी सबै सेवाहरू स्रोत केन्द्रले निःशुल्क प्रदान गर्छ ।  तपाईँले स्रोत केन्द्रमा गएर यो सेवा लिए बापत कुनै पनि र कति पनि शुल्क तिर्न पर्दैन । यहाँहरूले बिना हिचकिचाहट स्रोत केन्द्रमा गएर आफ्नो समस्या राख्न सक्नुहुन्छ ।

स्रोत केन्द्र आफैं समस्याको समाधान गरिदिने निकाय नभए पनि सम्बन्धित निकायसम्म पहुँच बनाइदिने काम चाहिँ यसले गर्छ । र त्यो पहुँच बनेपछि सेवा प्राप्त गर्न जेजस्तो सहयोगहरू आवश्यकता पर्छ त्यो सहयोग पनि तपाईँलाई स्रोत केन्द्रले उपलब्ध गराउँछ । 

सम्पर्क गर्ने उपायहरू

स्रोत केन्द्रमा गएर त्यहाँ रहनुभएका परामर्शकर्ताहरूलाई भेटेर नै सबै जानकारी लिनुभयो भने अति नै राम्रो हुन्छ । तर सबै जनाका लागि यस्तो सहज नहुन सक्छ । तपाईँलाई वैदेशिक रोजगारीमा जानु छ, आप्रवासी स्रोत केन्द्रको बारेमा जानकारी पनि पाउनुभएको छ तर पुग्न समय र परिस्थिति छैन भने फोन गरेर पनि आफूलाई आवश्यक परेका जानकारी लिन सक्नुहुन्छ । परामर्शकर्ताहरूले तपाईँलाई फोनमार्फत पनि जानकारी प्रदान गर्नुहुन्छ । 

अन्य स्रोत केन्द्र नभएको जिल्लाको केश छ भने पनि स्रोत केन्द्रमा त्यसबारेमा जानकारी आइसकेपछि आवश्यक सहयोग उपलब्ध गराउँछ । त्यसरी सहयोग गरेको र सफल भएको उदाहरण पनि हामीसँग थुप्रै छन् । 

अहिले ३८ वटा जिल्ला प्रशासन कार्यालय र २२ वटा इलाका प्रशासन कार्यालयहरूमा सामीका आप्रवासी स्रोत केन्द्रहरू सञ्चालनमा छन् । यी केन्द्रहरू वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अत्यधिक भएको जिल्लाहरू र जहाँबाट पासपोर्ट धेरै वितरण भइरहेको छ त्यस्तो जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा स्थापना गरिएको हो ।

देशका सबै जिल्लामा सामी पुग्न सकेको छैन । तर अर्को उपाय भने श्रम मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरमा पनि तपाईँले फोन गरेर आवश्यक सूचना तथा जानकारी लिन सक्नुहुन्छ । कल सेन्टरमा फोन गर्दा पैसा लाग्दैन । ११४१ नम्बरमा निःशुल्क फोन गर्न सक्नुहुन्छ ।  

आप्रवासी स्रोत केन्द्रहरूको सम्पर्क नम्बर चाहिँ  सेफर माइग्रेसन सामी कार्यक्रम तेस्रो चरण भन्ने फेसबुक पेजमा गएर लिन सकिन्छ । फेसबुक पेजमा सबै जिल्लामा रहेका स्रोत केन्द्रहरूको सम्पर्क नम्बरहरू उपलब्ध छन् । 

यस्तै अर्को कुरा भनेको अहिले विद्यमान रहेका आप्रवासी स्रोत केन्द्रले सूचना र सेवा प्रवाहमा जिल्ला र क्षेत्र भनेर मात्र हेर्दैन । अन्य स्रोत केन्द्र नभएको जिल्लाको केश छ भने पनि स्रोत केन्द्रमा त्यसबारेमा जानकारी आइसकेपछि आवश्यक सहयोग उपलब्ध गराउँछ । त्यसरी सहयोग गरेको र सफल भएको उदाहरण पनि हामीसँग थुप्रै छन् । 

यसका साथै श्रम मन्त्रालय मातहतकै वैदेशिक रोजगार बोर्ड छ, विभाग छ जसले तपाईँहरूलाई सहयोग गर्छ । यी निकायमा गएर पनि सहयोग लिन सक्नुहुन्छ । 

(सामी कार्यक्रमकी वरिष्ठ कार्यक्रम अधिकृत संगीता रिजालसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित । )

अन्तिम अपडेट: पुस २, २०७९

संगीता रिजाल

संगीता रिजाल सुरक्षित आप्रवासन सामी कार्यक्रमकी वरिष्ठ कार्यक्रम अधिकृत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया