हेटौंडाको नवलपुरमा पक्राउ परेका ३३ जना जुवाडेलाई तिहार मान्न छोडियो

 कात्तिक १०, २०७९ बिहिबार ९:४८:१६ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा जुवाको खालबाट पक्राउ परेका ३३ जना जुवाडेलाई तिहार र छठ पर्व मनाउनका लागि छोडिएको छ ।

लगातार बिदा परेकाले आउँदो कात्तिक १४ गते कार्यालय खुलेको दिनमा प्रहरीमा हाजिर हुनेगरी चार्डपर्व मनाउन छोडिएको हो ।

तिहार, छठ पर्व भएकाले र यसै बीचमा बिदा पनि परेकाले कार्यालय खुलेको दिनमा हाजिर हुनेगरी छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेकालाई अनुसन्धान अधिकृत र सरकारी वकिलको समन्वयमा आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले ७३ हजार रुपैयाँ नगद रकम समेत बरामद गरेको थियो ।

अस्थायी प्रहरी पोष्ट थानाभर्याङ र जिल्ला प्रहरी कार्यालय मकवानपुर खटिएको प्रहरी निरीक्षकको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा ३३ जना र अभद्र व्यवहार गरेको आरोपमा एक महिला गरी ३४ जनालाई पक्राउ गरेको थियो । प्रहरीले म्याद थप गरेर मुद्धा दर्ता गर्न बाँकी छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया