मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

 कात्तिक १८, २०७९ शुक्रबार १८:४३:२१ | रासस
unn.prixa.net

जुम्ला – पाकेको मार्सी धानमा ब्लास्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका ४ गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लास्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो ।

धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लास्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरामात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिनुभयो । 

धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन  भएको त्यहाँका किसानको गुनासो थियो । मार्सी धानले बाह्रै महिना खान पुग्ने भएकाले चामल किन्न बजार जानुपरेको थिएन । अब पहिलो पटक बजार गएर सेतो चामलको भात खानुपर्ने दिन पनि आयो । जेठको पहिलो साता खेतमा मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा यस गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताउनुभयो । धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुग्नुभएको थियो । किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको उहाँको भनाइ थियो ।

मार्सी धानमा ब्लास्ट रोगको सङ्क्रमण भएको छ । उन्नत जातको यस  धानमा यो रोगको खासै समस्या छैन तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ । ‘धानको नमुना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ, केन्द्रले त्यसको विवरण कृषि अनुसन्धान परिषदमा पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ तर धानमा लागेको रोग नियन्त्रणमा आएन’, कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । 

जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकोमा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो । यो वर्ष जिल्लाको धान उत्पादनको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया