आयोग पटक्कै कडा भएको छैन, कानुनको पालनामात्रै गराएको हो : प्रमुख आयुक्त थपलिया

 मंसिर २, २०७९ शुक्रबार १६:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग कडा भएको नभइ कानुनको पालना मात्रै गराउन खोजेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौ पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले आम मानिसमा आयोग कडा भएको भन्ने भ्रम सिर्जना भएको भन्दै आयोगले संविधानलाई कार्यान्वयन गरेको बताउनुभयो । 

प्रमुख आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता अनुशासित भए आयोग कडा भएको अनुभव नै गर्न नपर्ने उल्लेख गर्नुभयो । कानुनले भनेका कुरा पूर्णतया पालना गराउने पक्षमा आयोग रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोग कडा भएको छैन । पटक्कै कडा भएको छैन । फुटबल खेल्दा रेफ्रीले रेड कार्ड देखाएन भने रेफ्री कडा भएको होइन, खेलाडी गतिला भएका हुन् । अनुशासित भएका हुन् । साँच्चै यो देशमा राजनीतिक खेलाडीहरू, निर्वाचनका खेलाडीहरू अनुशासित हुँदै गएका हुन् भने यो हाम्रो निम्ति खुसीको विषय हो । हामी हिजो जस्तो थियौँ, अहिले पनि त्यस्तै छौँ । कानुन तिनै हो । बनाएको कानुन पालना गरौँ । कानुनले कसैलाई वर वा पर भन्न हुँदैन । ठूलो वा सानो भन्नु हुँदैन । जसरी मतको मूल्य बराबर छ, त्यसैगरी कानुनले गर्ने व्यवहार पनि बराबर हुन्छ ।’

कार्यक्रममा बोल्दै थपलियाले वर्तमान राजनीतिक संस्कारले संविधानले उल्लेख गरेको महिला सहभागिताको अधिकारलाई नै अप्ठेरोमा पार्नसक्ने बताउनुभयो । उम्मेदवारीमा महिलाको प्रतिनिधित्वको विषय आयोगले बारम्बार स्मरण गराउँदासमेत सुनिश्चितता गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । महिला सहभागिता गराउने कुरामा दलले टिकट दिने वा नदिने भन्नेबारेमा आयोग प्रवेश गर्न नमिल्ने उहाँको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले चुनावमा उम्मेदवारी दिनका लागि आफू लायक छु वा छैन भन्ने नबुझिकन उम्मेदवारी दिन आउँदा आयोगलाई समस्या परेको गुनासो गर्नुभयो । उहाँले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा नेपाली र दुई वटा विदेशी गरी ४६ वटा संस्थाबाट सात हजार आठ सय जना पर्यवेक्षक चुनाव पर्यवेक्षणका लागि खटिने बताउनुभयो । चुनावमा १८ वटा कुटनीतिक नियोगका विभिन्न टोलीहरू पनि पर्यवेक्षणका लागि आएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया