कञ्चनपुरका सबै मतदान केन्द्र लैङ्गिक समावेशी र अपाङ्गमैत्री

 मंसिर ३, २०७९ शनिबार १३:३५:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर – आउँदै गरेकाे प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावका लागि कञ्चनपुरका मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा रहेका तीन सय ४६ मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको हो ।

“निर्वाचन आयोगको निर्देशनअनुसार सुत्केरी, गर्भवती, किरियायुत्री, (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) ज्येष्ठ नागरिक, बिरामी र अपाङ्गगता भएका व्यक्तिलाई मतदान गर्न सहज हुने गरी मतदान केन्द्र बनाइएका छौँ”, उहाँले भन्नुभयो, “यस्ता मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था गरिएको छ ।”

निर्वाचन क्षेत्र नं १ मा एक सय १९, निर्वाचन क्षेत्र नं २ मा एक सय १८ र निर्वाचन क्षेत्र नं ३ मा एक सय नौ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि तीन सय ४६ मतदान केन्द्रमा दुई हजार सात सय ५० जना कर्मचारीलाई खटाइएको छ । निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी निर्वाचन केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी सामग्री उपलब्ध गराई केन्द्रमा खटाइएको हो ।

“निर्वाचनसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ”, कार्यालय प्रमुख जोशीले भन्नुभयो, “निर्वाचनका लागि बुथ निर्माण गर्ने कार्यमा सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।” उहाँका अनुसार जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन् । जिल्ला कारागार कञ्चनपुरमा एक र भीमदत्त नगरपालिका कार्यालयमा एक गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको हो ।

कारागारमा राखिएको अस्थायी मतदान केन्द्रमा ३३ जना कैदीबन्दीले समानुपातिकतर्फको मतदान गर्न पाउनेछन् । भीमदत्त नगरपालिका कार्यालयमा राखिएको मतदान केन्द्रमा कर्मचारीले मतदान गर्न पाउने छन् ।

यसैबीच, निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मङ्सिर १ देखि ४ गते राति १२ बजेसम्म जिल्लाभर तथा मतदानस्थल र सोको वरिपरि तीन सय मिटर क्षेत्रसम्म निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि कुनै पनि प्रकारको रक्सी तथा नशालु पदार्थ बेचबिखन, ओसारपसार र प्रयाेग गर्न निषेध गरेको छ ।

चुनावलाई दृष्टिगत गरी अनुमतिबाहेकका कुनै पनि निजी तथा सार्वजनिक गाडीहरु मङ्सिर ४ गते बिहान ४ देखि साँझ ७ बजेसम्म सञ्चालमा रोक लगाइएको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया