वैज्ञानिकले भेटे विराटनगरमा तीन प्रजातिका जंगली धान, संरक्षणको लागि जीन बैंक लगियो

 असोज १८, २०७५ बिहीबार ११:५३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिकामा हराउन लागेको जंगली धान फेला परेपछि वैज्ञानिकहरुले त्यसको उद्दार गरेका छन्  । जंगली धान पहिला कोशी टप्पुमा पाउँदै आएकोमा त्यहाँको धान हराएपछि पूर्वमा जंगली धान पाउनै मुस्किल थियो । 

विराटनगर महानगरपालिका वडा नम्बर १९ को बैजनाथपुरमा जंगली धानको ३ प्रजाती फेला परेको हो । बैजनाथपुरको मिलनचोकमा रहेको  सार्वजनिक जग्गामा   हराउने क्रममा रहेको जंगली धान भेटिएको स्थानीय  विवेकानन्द झाले जानकारी गराएपछि राष्ट्रिय बिज बैंकबाट आएको वैज्ञानिकहरुको टोलीले भेटिएको जंगली धानको उद्दार गरेका हुन् ।

हराउने अवस्थामा पुगेको ३ जातको धान संकलन गरी नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को राष्ट्रिय जिन बैंकमा लगिएको वरिष्ठ वैज्ञानिक डा.बालकृष्ण जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार, तीनवटा जातहरु ओराइजा निभारा, ओराइजा रुफी पोगन र लिर्सिया धानका जातहरुको उद्दार गरिएको हो ।

यस अघि सुनसरीको कोशीटप्पुमा ओराइजा निभारा र ओराइजा रुफी पोगन दुई प्रजाती मात्र फेला परेको थियो । अहिले थप अर्को जाती लिर्सिया मिलनचोकमा भेटिएको डा जोशीले बताउनुभयो  ।

यो फेला परेको जंगली धान अहिले हामीले खानाको रुपमा प्रयोग गरिने धानको पुर्खा भएको डा. जोशील बताउनुभयो ।

यसको फाइदा

यस अघि कोशीटप्पुमा पाईँदै आएको जंगली धान गएको २ वर्षदेखि हराएको छ । यो प्रजातिको धान नेपालको पश्चिमी जिल्लाहरुमा केही भेटिने गरेको भए पनि पूर्वमा जनकपुर र विराटनगरमा मात्र पाइएको वरिष्ठ वैज्ञानिक जोशीको भनाइ छ । विराटनगरमा करिब एक रोपनीमा यो धान भेटिएको हो ।

पश्चिममा चोखो धानको रुपमा समेत यो धानलाई प्रयोग गर्ने गरेको गरिन्छ । जंगली धान र खेती गरिने धान बीचको प्राकृतिक रुपमा परागशेचनको माध्यमबाट हाईब्रिड स्वाम विकास भएकोले त्यो हाइव्रिड स्वाम ठिमाहाको रुपमा देखा पर्ने र धेरै फल्नेलगायतका फाइदा हुने विज्ञहरु बताउँछन् । 

यस्ता जंगली धानमा रोगसँग लड्ने गुण भएको जिन  हुने, धानमा डडुवा रोग लाग्दा यसबाट ट्रान्सफर  गर्न सकिने विज्ञहरुको तर्क छ ।

नयाँ जातको धान विकास गर्नको लागि जंगली धान र अन्य स्थानीय जातको धान नभई नहुने वरिष्ठ वैज्ञानिक दीपा सिंहले जानकारी दिनुभयो । अहिले हामीले खाइ रहेको धान प्राकृतिक क्रसिङबाट आएको हो । स्थानीय जातका धानहरु हराउँदै जान थालेको अवस्थामा  स्थानीय जातको संरक्षणसँगै यस्ता जंगली धानहरुको पनि संरक्षणको खाँचो रहेको छ  ।

विश्वमा पाइने २२ जात मध्ये ४ जात नेपालमा

विश्वमा २२ जातका जंगली धानहरु फेला परेको छ । जसमा नेपालमा ४ जातको जंगली धान देखिएको छ । त्यो मध्ये जंगली धानको तीन जात विराटनगरको वैजनाथपुरमा रहेको मिलनचोकमा पाइएको हो ।

विराटनगरमा जंगली धान फेला परेपछि आएको राष्ट्रिय आणुवंशिक श्रोत केन्द्र जीन बैंकबाट  वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशी, वरिष्ठ वैज्ञानिक दीपा सिंह र वरिष्ठ अधिकृत सुरेन्द्र श्रेष्ठसहित आएको वैज्ञानिकहरुले तीन जातको जंगली धान  भएको पुष्टी भएपछि उद्दार गरेको थियो । उद्दार गरिएको धानको संरक्षणको लागि बर्जु ताल र काशीटप्पु क्षेत्रमा संरक्षण गरिने वैज्ञानिक जोशीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया