रौतहटमा आगलागीमा परेर एकै घरका ३ बालबालिकाको ज्यान गएको पुष्टि, ३ जना घाइते

 मंसिर ८, २०७९ बिहिबार ८:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - रौतहट सदरमुकाम गौरमा गएराति भएको आगलागीमा परेर एकै घरका ३ बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका १ माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा गए राति ११ बजे आगलागी हुँदा  तीन बालबालिकाको घटनास्थलमै जलेर ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

आगलागीमा इस्लाम मियाकी ९ वर्षकी छोरी रुक्साना खातुन, ५ वर्षकी छोरी सविना खातुन र ७ वर्षको छोरा इमरान मन्सुरीको ज्यान गएको प्रहरीले जनाएको छ ।  यसैगरी घाइते हुनेमा इस्लामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरान र २४ वर्षकी नसिमा खातुन छन् ।

घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा खातुन लडेर घाइते भएका प्रहरीले जनाएको छ । घाइते तीन जनाकै उपचार गौर अस्पतालमा भइरहेको छ । एक जनाको अवस्था गम्भीर भएकाले काठमाण्डौ ल्याउने तयारी  छ ।  ज्यान गुमाएका तीन जनाको शव गौर अस्पतालमा राखिएको छ । आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए । सुतेकै अवस्थामा आगलागी भएको हुँदा मानवीय समेत क्षति हुन पुगेको प्रहरीको भनाई  छ ।

आगालागीले कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा पनि क्षति पुर्याएको छ । ग्यारेजमा बनाउनलाई राखिएका दर्जनौँ मोटरसाइकल जलेका छन् । मोटरसाइकल बनाउने ग्यारेजमा रहेका मोटरसाइकलको पेट्रोल तथा ग्यालेनमा रहेको पेट्रोलमा आगो सल्केपछि आगो झनै बढेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा राति नै आगो निभाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो । गौर नगरपालिकाका नगर मेयर शम्भु साहले घटना निकै दुःखद भएको भन्दै पीडितलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

यस्तै, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पनि पीडित परिवारलाई भेट्नु भएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया