अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले झन्डै २ सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी

 माघ ७, २०८१ सोमबार १८:१२:४४ | एजेन्सी
unn.prixa.net

तस्वीर : सिन्ह्वा

अमेरिकाको राष्ट्रपतिमा दोस्रो पल्ट निर्वाचित डोनाल्ड ट्रम्पले आजदेखि राष्ट्रपतिको पद सम्हाल्दै हुनुहुन्छ । नेपाली समयानुसार आज राति पौने ११ बजे हुने शपथ ग्रहण समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्प र उपराष्ट्रपति जेडी वेन्सलाई शपथ गराउने बीबीसीले जनाएको छ ।

क्यापिटल भवन अगाडि हुँदै आएको राष्ट्रपतिको शपथ ग्रहण समारोह यस पटक खुला ठाउँमा नभई संसद् भवनभित्र हुँदैछ । अत्यधिक चिसो मौसमका कारण दशकौंपछि पहिलो पटक भवनभित्र समारोह हुन लागेको हो ।

शपथका बेला ट्रम्पकी श्रीमती मेलानिया बाइबल समाएर उभिने र ट्रम्पले देब्रे हातले बाइबल छुने कार्यक्रम छ । बाइबलमा हात राखेर शपथ लिने परम्परा सन् १७८९ मा जर्ज वाशिङ्गटनले शुरू गर्नुभएको हो । यो संवैधानिक व्यवस्था नभए पनि परम्परा बनेको छ । केही राष्ट्रपतिले बाइबल नछोइकन पनि शपथ लिएका छन् ।

नवनिर्वाचित राष्ट्रपतिले देशका नाममा पहिलो सम्बोधन गरेपछि राष्ट्रपति र उपराष्ट्रपति दुवैले आफ्नो पहिलो आधिकारिक काममा हस्ताक्षर गर्नुहुने छ । वाशिङ्टन डीसीमा रहेको संसद् भवन, यूएस क्यापिटलमा हुने समारोहमा राष्ट्रपति जो बाइडेन, उप–राष्ट्रपति कमला ह्यारिसलगायत अमेरिकाका प्रभावशाली राजनीतिकर्मी, खर्बपतिदेखि विभिन्न देशका नेता र सेलेब्रिटीहरूको उपस्थिति हुनेछ ।

यो पटक डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको ७५ दिनपछि सत्ता सम्हाल्दै हुनुहुन्छ । अमेरिकामा शक्ति हस्तान्तरण प्रक्रिया पूरा हुन नतिजा प्राप्त भएको ७२ देखि ७८ दिनसम्म लाग्न सक्छ । नयाँ राष्ट्रपतिले चार हजार जनाभन्दा धेरै राजनीतिक नियुक्ति गर्ने गर्छन् । जसमा झन्डै एक हजार जनालाई सिनेटको मञ्जुरी चाहिन्छ ।

अमेरिकामा पद सम्हालेपछि राष्ट्रपति ह्वाइट हाउसमा बस्नुपर्ने अनिवार्य हुन्छ । यो अमेरिकाको राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन नै ठूला परिवर्तनका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिजो भएको एउटा र्‍यालीमा बोल्दै ट्रम्पले आफूले कार्यभार सम्हालेको केही क्षणमै कतिपय कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने र त्यसमा आप्रवासन र देश निकालादेखि वातावरण र पारलिङ्गी अधिकारका मुद्दाहरू समेट्ने बताउनुभएको छ । ट्रम्पले शपथ ग्रहणलगत्तै झन्डै दुई सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी रहेको बीबीसीले जनाएको छ ।

कार्यकारी आदेश भनेको राष्ट्रपतिले नीतिगत परिवर्तन लागू गर्नसक्ने तरिकाहरूमध्ये एक हो । जसका लागि सांसदहरूको मत हासिल गर्न आवश्यक पर्दैन । तर कार्यकारी आदेशहरूको कानूनी समीक्षा हुनसक्छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २ सय २० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

यसैबीच अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी ल्याउनुभएको छ । मिम कोइन डलर ट्रम्प नाम दिइएको डिजिटल मुद्रा केही घण्टामा नै कैयौं अर्ब डलरमा परिणत भएको बीबीसीले जनाएको छ । त्यस्तै ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले पनि डलर मेलानिया नामको क्रिप्टोकरेन्सी घोषणा गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया