‘दलाल र भ्रष्ट मानसिकताले कर्णाली बन्दैन’

 असोज १९, २०७५ शुक्रबार १७:२६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कालिकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय तहले भ्रष्टाचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनीतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने चेतावनी दिनुभएको छ ।

जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा शुक्रबार सदरमुकाम मान्मामा भएको स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले ठूलो बलिदानको जगमा बनेको संघीय व्यवस्थाका विरुद्ध जनमत बन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको बताउनुभयो ।  

भ्रष्टाचारबाट सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले दलाल र भ्रष्ट मानसिकताको विकास हुने बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘कामै नगरी गोजीमा पैसा आउने स्थिति भएमा कसले गर्छ श्रम ? अनि कसरी बन्छ मुलुक ?’

भ्रष्टाचार गर्ने उद्धेश्यले नै योजना निर्माण गर्ने र पकेटका मान्छेहरुलाई योजना कार्यान्वयनको जिम्मेवारी दिने प्रवृत्ति स्थानीय तहमा बढ्न थालेकोप्रति मुख्यमन्त्री शाहीले चिन्ता व्यक्त गर्नुभयो ।

स्थानीय जनप्रतिनिधिहरुलाई इमान्दारिताका साथ काम गर्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘अहिले सातु खाएर काम गरौं, मुलुक समृद्ध भएमा हामी त्यसै समृद्ध हुन्छौं ।’

कर्णालीको समृद्धिका लागि सबै नागरिकले २४ घण्टा श्रम गर्नुपर्ने संस्कारको विकास गर्न जरुरी रहेको बताउदै प्रदेश सरकारले श्रमदिन मनाउने गरेको र आफूले पनि ढुंगा बोक्ने गरेको उहाँको भनाई छ ।

मुख्यमन्त्रीले ढुंगा बोक्यो भनेर आफ्नो आलोचना हुने गरेको पनि आफूलाई थाहा भएको बताउँदै मुख्यमन्त्री शाहीले विकास र समृद्धि दलाली गरेर हासिल नहुने बताउनुभयो । 

अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री शाहीले आफ्नो क्षेत्रको विकासका लागि कसैको भर नपर्न आग्रह गर्नुभयो । संसारका सबै राष्ट्र आफ्नो श्रम र चेतनामा विश्वास गरेर नै समृद्ध भएको वताउँदै उहाँले भन्नुभयो, ‘अब कसैले दिने त्रिपालको आशा नगरौं, हामी आफैँ उत्पादन र श्रममा लागौं ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पूर्वाधार मन्त्री खडकबहादुर खत्री र प्रदेशसभा सदस्य कुर्मराज शाहीले पनि आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख तथा वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया