पाल्पामा बिहे भाेज खाएका ८० जनाभन्दा धेरै बिरामी

 मंसिर २०, २०७९ मंगलबार ११:५७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा - पाल्पामा बिहे भोज खाएका माइतीपक्ष र जन्ती आएकाहरु बिरामी परेका छन् । बगनासकाली गाउँपालिका-१ चिर्तुङधारामा बिहे भोज खाएका प्राय: सबै बिरामी भएका वडाअध्यक्ष शेरबहादुर रानाले जानकारी दिनुभयो ।

भोज खाएका स्थानीय बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा धेरै बिरामी परेका वडाअध्यक्ष रानाको भनाइ छ । गएको १७ गते शनिवार बगनासकाली गाउँपालिका-१, चिर्तुङधारामा रहेको दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेका हुन् ।

जन्ती आएका प्युठानका एकै गाउँका ४५ जनाभन्दा बढी बिरामी परेका जनाइएको छ । भोजमा मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलुमुलाको अचार रहेको थियो । बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिनियर अहेब नोदप्रसाद बस्यालले जानकारी दिनुभयो ।

बिरामीहरुलाई औषधि वितरण गरिएको र औषधिले काम नगरेपछि उनीहरु तानसेनका निजी स्वास्थ्य संस्था र मिसन अस्पतालमा पुगेका छन् । मिसन अस्पतालका अनुसार सोमवार हिजाे २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना गरेर उपचार गरिएको थियो ।  उनीहरु खतरामुक्त भएपछि घर फर्किएका छन् ।

७० जनाभन्दा बढी बिरामी स्वास्थ्य चौकी आएका जानकारी दिँदै चिर्तुङधारा स्वास्थ्य चौकीले बिहानैदेखि थप बिरामीको परीक्षण भइरहेको जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया