ग्वार्को चोकमा फ्लाइओभरको काम सुरु, कहाँ कहाँबाट हुँदैछन् गाडी डाइभर्सन ?

 मंसिर २३, २०७९ शुक्रबार ९:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको सडक विभागले जनाएको छ ।

१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको उचाइ ६ मिटरको हुनेछ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ग्वार्कोमा काम सुरु गरिएको जानकारी दिनुभयो ।

सबै प्रकारका गाडी आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको हुनेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका गाडी फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन र इमाडोल आउजाउ गर्ने गाडी फ्लाइओभर मुनिबाट चल्नेछन् । फ्लाइओभरको लम्बाइ चार सय ५५ मिटरको हुनेछ ।

निर्माणको काम प्रभावित नहोस् भनेर ट्राफिक प्रहरीले गाडी गुड्ने मार्गमासमेत परिवर्तन गरेको छ । फ्लाइओभर निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटो तर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे गाडीलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे गाडीलाई मुल बाटो अर्थात फास्ट्रयाकबाट सञ्चालनको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण गाडीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चल्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे गाडीलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फाष्ट्रयाकबाट सञ्चालन गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया