सगरमाथा क्षेत्र भ्रमण गर्नेहरुबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाले उठायो ३ करोड बढी राजस्व

 मंसिर २३, २०७९ शुक्रबार १०:७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट ३ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा अहिलेसम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार राजस्व सङ्कलन गरेको हो । चालु आर्थिक वर्षमा १५ हजार ३ सय १३ पर्यटक खुम्बु भित्रिएको गाउँपालिकाको तथ्याङ्क छ ।

जसमा साउन महिनामा २ सय ३ जना, भदौमा ६ सय ६१ जना, असोजमा ५ हजार ६ सय २९ जना, कात्तिकमा ७ हजार ७ सय ८६ जना र मङ्सिर १५ गते सम्ममा १ हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् ।

पालिकाले प्रति विदेशी पर्यटक २ हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले जानकारी दिनुभयो ।

यो रकम पालिकाको छुट्टै राजस्व खाता राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको र पर्यटक पूर्वाधार विकासमा मात्रै खर्च गर्ने उहाँको भनाइ छ ।

१० वर्षभन्दा कम उमेरका, कुटनीतिक नियोगका व्यक्तिहरु तथा नेपाल सरकारबाट निर्णय भएर खोज तथा अनुसन्धानमा आएका व्यक्तिलाई शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

देश सङ्घीयतामा गएसँगै २०७४ सालमा पहिलो पटक स्थानीय सरकारले निर्णय गरेर पर्यटकबाट पालिकाले छुट्टै राजस्व सङ्कलन गर्न थालेको हो । 

यो निर्णय खारेजीको माग गर्दै पर्यटन व्यवसायीले अदालतमा मुद्दासमेत हालेका थिए । तर यस मुद्दामा उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुङ्गाले गाउँपालिकाको नाममा फैसला गरेसँगै शुल्क लिने कार्यको बाटो खुलेको हो ।

सगरमाथा क्षेत्र भ्रमण गर्न आउने विदेशीलाई सगरमाथा राष्ट्रिय निकुञ्जले पनि निकुञ्ज प्रवेश शुल्क लिने गरेको छ । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया