गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको विनाशको निरीक्षण गर्न थाले

 माघ ८, २०८१ मंगलबार १२:३३:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजामा पूर्ण युद्धविराम लागू भएको पहिलो दिन उद्धारकर्मी र नागरिकले १५ महिना चलेको युद्धले निम्त्याएको ठूलो मात्राको विनाशको निरीक्षण गर्न थालेका छन् ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले युद्धका क्रममा ध्वस्त भएका संरचनाको भग्नावशेषमुनि अझै पनि दश हजारभन्दा धेरै शवहरू दबिएको आशङ्का गरेको छ । एजेन्सीका प्रवक्ता महमुद बसालले सय दिनभित्र भग्नावशेष हटाएर सबै शव निकाल्ने प्रयास गर्ने भने पनि ती संरचना हटाउन उपकरणहरूको अभावले ढिलाइ हुने सम्भावना रहेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

आइतवारको युद्धविरामपछि गाजाका विभिन्न क्षेत्रमा भएको विनाशका दृश्यहरू सार्वजनिक भइरहेका छन् । संयुक्त राष्ट्रसङ्घले यसअघि गाजामा ६० प्रतिशत संरचनाहरू क्षतिग्रस्त वा नष्ट भएको आँकलन गरेको थियो ।

युद्धविराम शुरू भएसँगै बमबारी र आक्रमणको आवाज उत्सवहरूले प्रतिस्थापन गरे पनि लामो समयसम्म आक्रमण भोगेका गाजाका नागरिकले सामना गर्ने वास्तविकता निराशाजनक रहेको खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमका अनुसार युद्धले २० लाखभन्दा बढी गाजावासी घरबारविहीन, आम्दानीविहीन र बाँच्नका लागि खाद्य सहायतामा पूर्णरूपमा निर्भर भएका छन् ।

खाद्य सहायता सामग्री युद्धविरामलगत्तै गाजामा प्रवेश गर्न थालेको छ । पहिलो दिन आइतवार ६ सय ३० लरीहरू र दोस्रो दिन हिजो सोमवार थप ९ सय १५ लरीहरू खाद्यसहितका सहायता सामग्री लिएर गएका थिए ।

१५ महिनाअघि युद्ध शुरू भएयता सहायता सामग्री बोकेका लरीको यो सङ्ख्या सबैभन्दा उच्च रहेको राष्ट्रसङ्घले जनाएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया