यूएईमा काम गर्दै २०१० को फिफा विश्वकप हेर्दाको सम्झना

 मंसिर २५, २०७९ आइतबार १७:५०:४३ | नारायण कोइराला
unn.prixa.net

फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ कतारमा चलिरहेको छ । यो समय भनेको फुटबल प्रेमीहरुको लागि पर्व जस्तै हो । 

त्यसैले फुटबल प्रेमी त्यसप्रति आकर्षित हुनु स्वभाविक पनि हो । साना बालबच्चादेखि बुढासम्ममा यसको क्रेज छ । सडक, गल्ली घर, आँगनदेखि पूरै विश्वमा यसको चर्चा छ । 

फुटबल हेर्न रातभर जाग्राम बस्नेहरु पनि छन् । कतिपय बिहानै उठेर हाइलाइट हेरेर पनि चित्त बुझाउँछन् । यो त आआफ्नो इच्छाको कुरो भयो । फुटबल प्रेमीहरुको रोजाइमा आफ्ना आफ्ना टिम छन् । कति फुटबल प्रेमीहरू त टिमअनुसार नै जर्सी लगाएर दिउँसो खेल्न र राति हेर्न व्यस्त छन् ।

ससाना बालबालिकाहरु आफ्नो टिमले हार्दा रोएका भिडियो पनि भाइरल हुने गरेका छन् । खेल चल्दै गर्दा कतिका समर्थक टिमहरु खेलबाट बाहिरिसकेका छन् । 

आफूले रुचाएको टिम बाहिरिँदा कतिपय दुःखी पनि छन् भने कतिपय आफूले रुचाएको टिमले जित्दा खुसी छन् । 

हुन त मैले कुनै टिमको सपोर्टमा रातभर जाग्राम बसेर अचेल फुटबल हेर्ने गरेको छैन । 

अहिले २०२२ फिफा विश्कप कतारमा चलिरहँदा फिफा विश्वकप दक्षिण अफ्रिका २०१० को सम्झना भने आउने गर्छ । जुन समयमा म खाडीमा कार्यरत थिएँ ।

वैदेशिक रोजगारीमा म त्यतिबेला यूएईमा थिएँ । अर्काको देशमा श्रम गर्ने भएपछि पहिला कामको नै चिन्त्ता गर्नुपर्ने अवस्था रहन्छ । बिहान उज्यालो भएसँगै उठेर साँझ अँध्यारो भएपछि कोठामा पस्ने अवस्था हुन्थ्यो । कोठामा करिब सात आठ जना साथी मिलेर बस्ने गथ्यौँ । सन् २०१० को फिफा विश्वकप यूएई समय अनुसार सबै रातको समयमा नै हुने गर्थे । दिनमा भएको भए हामी जस्तो दिनभर काम गर्ने श्रमिकले विश्वकप हेर्न पाइने अवस्था पनि रहन्थ्यो । कोठामा विश्वकपको खुब हल्ला चल्थ्यो । कोठामा पनि टीम अनुसार सपोर्ट गर्ने साथीहरु थिए । कोही अर्जेन्टिनाका फ्यान थिए त कोही ब्राजिलका । कोही फ्रान्स जित्छ भन्थे । यस्तै कोही जर्मनी । 

खेल हो हारजित त हुन्छ नै । खेल सुरु हुँदा सबैले आफैंले सपोर्ट गरेको टिमले जित्छ भन्नु स्वभाविक नै हो । अहिले जस्तो पैसा तिरेर हेर्नुपर्ने नभए पनि परदेशको ठाउँमा हाम्रो कोठामा टेलिभिजन भने थिएन । 

मोबाइलमा हेर्दा मज्जा आउँदैन भन्ने साथीहरु पनि थिए । कतिपय भने खेल सुरु हुनुभन्दा पहिले नै मस्त निद्रामा हुन्थे । हाम्रो कोठाको एकजना साथी भने सधैं खेल सुरु हुनुभन्दा केही समय पहिला नै कोठाबाट निस्कने गर्नुहुन्थ्यो । कोठामा पनि चाहिने भन्दा बढी नबोल्ने उमेरले पनि पाको हुँदा हामी सबैको अभिभावक जस्तो हुनुहुथ्यो वहाँ । 

म पनि वहाँसँगै फिफा विश्वकप हेर्न जान्थेँ । हामी केही पर रहेको रेस्टुरेन्टमा खेल हेर्ने गथ्यौँ । त्यहाँ पुग्दा विभिन्न देशका श्रमिकहरु हुने गर्थे । कोही बंगलादेशी कोही भारती, पाकिस्तानी, श्रीलंकन, फिल्पिनी, मिश्री आदि । रेस्टुरेन्टमा जान केही खानैपर्ने हुन्थ्यो । हामी पनि एक एक बोतल पेप्सी लिएर रेस्टुेन्ट बाहिर राखिएको कुर्सीमा बस्थ्यौं । 

रेस्टुरेन्टको भित्ताको पर्दामा फुटबल हेर्ने व्यवस्था थियो । रात बितेसँगै भीड बढ्न थाल्थ्यो । सबैलाई कुर्सी पुग्ने अवस्था पनि थिएन । हामी भने पहिला नै आउने हुँदा धन्न कुर्सीमा सुरक्षित हुन्थ्यौँ । उठ्यो भने फेरि नपाइने हुँदा पिसाब लागे पनि खेल नभ्याएरै उठ्न मन लाग्थेन । बरु पिसाब च्यापेरै हेरिन्थ्यो । 

त्यहाँ पनि टीम अनुसार सपोर्टर हुने हुँदा घरी कसको हुटिङ हुन्थ्यो । घरी कसको । फुटबल खेलसँगै रेस्टुरेन्टको व्यापार पनि राम्रै चलेको थियो । खेल हेर्नेलाई रमाइलो र रेष्टुरेन्टलाई व्यापार । त्यो दिन हामी खेल सकिएपछि मात्र उठ्यौँ । मलाई त्यो दिनबाट विश्वकप हेर्नुको मज्जा सुरु भयो । कुनै टिमको सपोर्ट नगरे पनि नसुतेरै खेल हेर्न जान थालेँ । दिउँसो ड्युटीमा मेरा आँखा रातको अनिदोले राता भएका हुन्थे । शरीर थकित देखिन्थ्यो । मेरा मात्र होइन आधा जस्तो श्रमिक त्यस्तै देखिन्थे ।

हामी सधैंजसाे खेल सुरु हुनुभन्दा पहिला नै खेल हेर्न जान्थ्यौं । सधैं जसो कोही समर्थक निरास हुन्थे त कोही खुशी । खेल सुरु हुँदै फाइनलसम्म पुग्दा ब्राजिल, अर्जेन्टिना, जर्मनी देखि फ्रान्ससम्म र पोर्चुगल जस्ता देश पनि खेलबाट बाहिरिएका थिए । 

खेलमा सबैको जित हुने कुरो भएन । खेल हो हारजित त हुने भयो । अन्ततः खेलको फाइनलमा नेदरल्याणड र स्पेन पुग्न सफल भए । फाइनलको दिन रेस्टुरेन्ट मात्र होइन सुपरमार्केटदेखि होटलको अगाडि कतै ठूला ठूला टेलिभिजन त कतै पर्दामा खेल देखाउने व्यवस्था हुन्थ्यो ।

त्यहाँको अवस्था हेर्दा परदेशी श्रमिक रातको समयमा ओछ्यानमा होइन खेल हेर्न मैदानमा उत्रिएको देखिन्थ्यो । त्यो दिन पनि समर्थकहरु बाँडिएका थिए । प्रत्येक सुटमा हुटिङ हुन्थ्यो । हामी पनि रमाइलो र खेल दुवैको मज्जा लिँदै थियौँ । अन्ततः स्पेनले २०१० फिफा विश्व विश्वकप जित्यो । स्पेनका समर्थक पटका फोड्दै रमाए । नेदरल्याण्डका समर्थकमाझ उदासिनता छायो ।
हामी भने त्यहाँको रमाइलो छिचोल्दै कोठातिर गयौँ । 

परदेशमा दिनभर काम गर्दा पनि आधा रातसम्म खेल हेर्ने कस्तो क्रेज । जब जब फिफा विश्वकप आउँछ, सन् २०१० को विश्वकप हेर्दाको अनुभव ताजा हुन्छ । खेल हेर्दै गर्दा मेरा पुराना मित्र पुराना क्षणको याद आउँछ । 

अहिले पनि म समय मिलेसम्म विश्कप हेर्ने गर्छु । तर म एउटा टिमको समर्थनमा मरिहत्य गर्दिन । खेल हेर्ने हो, रमाइलो गर्ने हो भन्ने मान्यता राख्छु । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया