बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्याण्डकी राजदूत

 मंसिर २९, २०७९ बिहीबार ९:३३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत बन्नु भएको छ ।  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गएको शुक्रवार चौधरी फिनल्यान्डकी राजदूत बन्नु भएको हो ।

बालिका तथा किशोरीको सशक्तिकरणका लागि काम गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ कार्यक्रम गर्दै आएको छ । यसै अभियानलाई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा समेत निरन्तरता दिइएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ ।

‘गर्ल्स टेक ओभर’ अभियान अन्तर्गत गएको २३ गते फिनल्यान्डकी राजदूत रिना रिक्का हेक्काले एक दिनका लागि बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरीलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको हो । उहाँले ‘गर्ल्स टेक ओभर’ अभियान बारे आफू निकै उत्साहित भएको बताउनुभयो ।

पद ग्रहण गरे पछि चौधरीले लैङ्गिक समावेशी शिक्षा, किशोरीले कसरी काम गर्न सकिन्छ, महिनावरीमैत्री शौचालय तथा स्यानिटरी प्याडको अभाव, लैङ्गिक विभेद, बालविवाह लगायतको किशोरी तथा बालिकाका  विषयमा छलफल गर्नु भएको थियो ।  

विश्वका धेरै देशमा ‘गर्ल्स टेक ओभर’ कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा  सन्  २०१७ देखि यो कार्यक्रम भइरहेको छ । प्लान इन्टरनेशनल नेपालले अहिलेसम्म काठमाण्डौसहित देशका १२ जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अहिलेसम झण्डै ५ सय जना किशोरी यो कार्यक्रममा सहभागी भएका छन् भने यो वर्षमात्रै एक सय जना किशोरी ‘गर्ल्स टेक ओभर’ कार्यक्रममा सहभागी भएका प्लान इन्टरनेशनल नेपाल अन्तरगतको गर्ल्स गेट इक्वेल अभियानकी विशेषज्ञ सिर्जना बज्राचार्यले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया