राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

 मंसिर २९, २०७९ बिहिबार १६:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय पुरुष क्रिकेट टिमकाे निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनाेज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

प्रभाकरले आज बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका मुख्य प्रशिक्षकले दिएकाे राजीनामा स्वीकृत भएकाे क्यानले जनाएकाे छ । 

प्रभाकरको प्रशिक्षणमा नेपालले भर्खरै नामिबियमा सम्पन्न आईसीसी विश्व कप क्रिकेट लिग–२ का चार खेलमध्ये तीन खेल हारेकाे थियाे । नेपालले नामिबियासँग एक र स्कटल्यान्डसँग दुई खेल हारेकाे थियाे भने नामिबियासँगकाे अर्काे खेल वर्षाका कारण खेल रद्द भएकाे थियाे । याे हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो ।

सात देशमध्ये २४ खेलमा मात्र १८ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ । शीर्ष स्थानको स्कटल्यान्डकाे ३२ खेलमा ४६ अङ्क छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अङ्क छ । त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौँ स्थानको यूएईको २६ खेलमा २७ अङ्क छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा पाँच अङ्क छ ।

प्रभाकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्यासँगकाे टी–२० र एकदिवसीय क्रिकेट शृङ्खला जितेको थियो । त्यस्तै गएकाे महिना घरेलु मैदानमा सम्पन्न यूएईसँगकाे एकदिवसीय शृङ्खला पनि नेपालले जितेको थियो ।

पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धसमेत बिग्रिएको थियो । जसको कारण प्रभाकरको राजीनामा आएको कतिपयले अनुमान लगाएका छन् ।

तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गएकाे साउनमा क्यानले एक वर्षकाे सम्झाैता गर्दै प्रभाकरलाई नियुक्त गरेको थियाे । तर सम्झौताअघि नै प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया