नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अब अङ्ग्रेजी भाषामा

 पुस ३, २०७९ आइतबार ९:४४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अङ्ग्रेजी भाषामा प्रकाशित भएको छ। नेपाल भाषाका कथाकारहरूको संस्था बाखं दबूले आफूले अहिलेसम्म प्रकाशन गरेको पाँच सयभन्दा धेरै नेपाल भाषाको कथाहरूमध्येबाट छानेर अङ्ग्रेजी भाषामा अनुवाद गरी दुई वटा सङ्ग्रह प्रकाशन गरेको हो।

‘इन्स्पिरेशन’ र ‘डिभाइन’ अनुवाद सङ्ग्रहको शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा बाखं दबूका संस्थापक राजा शाक्य, साहित्यकार पशुपतिभक्त पमाय्,  नागर्जुन पब्लिकेशनका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ, साहित्यकार भूषणप्रसाद श्रेष्ठ र शिक्षाविद् रुपक राजवंशीले लोकार्पण गर्नु भएको हो ।

कार्यक्रममा साहित्यकार भुषणप्रसाद श्रेष्ठ र डा. सर्वोत्तम श्रेष्ठका साथै पुस्तक प्रकाशनमा आर्थिक सहयोग पुर्‍याउने शिक्षाविद् रुपक राजवंशी र वसुन्धरा तुलाधरलाई सम्मान गरिएको थियो।

कार्यक्रममा दुवै पुस्तकका सम्पादकहरू लोचनतारा तुलाधर, डा. रीना तुलाधर, वर्ल्ड नेवाः अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा. बालगोपाल श्रेष्ठ, अनुवादक सिल्भिया राजोपाध्याय लगायतले अनुवाद साहित्यको महत्त्वका बारेमा धारणा राख्दै अनुवादित सङ्ग्रहले नेपाल भाषाका कथालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि सहयोग गर्ने धारणा राख्नु भएको थियो।

इन्स्पिरेशनमा नेपालभाषामा लेखिएका २३ वटा र  डिभाइनमा ३१ वटा कथाको अनुवाद सङ्ग्रहित छन् । कथाहरूको अनुवाद डा तेजरत्न कंसाकार, सिल्भिया राजोपाध्याय्, राजेन मानन्धर, रजनी मिला, पुष्कर माथेमा, कमलरत्न तुलाधर, कुमारराजा महर्जन, स्वयम्भू मान तुलाधर, राजेन्द्र शाक्य, पुष्परत्न तुलाधर, प्रनिधि तुलाधर, दिव्यरत्न कंसाकार, बद्रि वेदना, राहुल तुलाधर र निलिसा तुलाधरले गर्नु भएको छ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया