नेपाल लिटरेचर फेस्टिभल : जाडाेमा उभिएरै कविता र गीतमा झुमे पाेखरेली

 पुस ७, २०७९ बिहिबार १२:५५:४८ | रासस
unn.prixa.net

तस्बिर : रासस

कास्की - बुधवार हिजाे बेलुकी पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिभल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए। 

चिसोयामको पर्वाह नगरि उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने । गायक सागरको ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो । सागरले आफ्नै गीत ‘मधुरो लालटिन’ र ‘निःशब्द’ सुनाउनुभयो । उहाँले अरुण थापाको ‘आँखाको गीत खोसी लाने’, साङ्गीतिक समूह कन्दराको चर्चित गीत ‘तगारोमा रुमाल राखी’, नवीन के भट्टराईको ‘अलिकति पीडा’लगायत गीत गाउनुभयो। 

सागरले गाउँदा दर्शकले पनि गला मिलाए । तालीले साथ दिए । सागरको गायनपछि पराजुलीले आफ्ना चर्चित कविता सुनाउनुभयो । लामा कविता पनि कण्ठस्थ र मार्मिक शैलीमा प्रस्तुत गर्ने उहाँको प्रतिभाले दर्शकदीर्घाबाट वाहवाही पायो । पराजुलीले ‘उ’, ‘एक्लै’ लगायत आफ्ना चर्चित कविता वाचन गर्नुभयो ।

आयोजक बुकवर्म फाउण्डेशनले फेस्टिभलको औपचारिक उद्घाटनपूर्व ‘शुभारम्भ साँझ’ राखेको हो । याे कार्यक्रममा पहिला पुग्ने दस जनालाई पराजुलीको कविता कृति ‘सगरमाथाको गहिराइ’ उपहारस्वरुप प्रदान गरिएको थियो ।

दसौँ संस्करणको याे फेस्टिभल बुधवारदेखि नै सुरु भए पनि औपचारिक उद्घाटन भने आज दिउँसो हुने आयोजकले जनाएको छ । फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने आयोजकले जनाएको छ । 

फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसम्वाद हुनेछ । पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभागी हुने आयोजकको भनाइ छ ।

फेस्टिभलमा श्रीलङ्काका लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुललगायत सहभागी हुँदैछन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा भगवान कोइरालासहित विशिष्ट व्यक्ति वक्ताका रुपमा उपस्थित हुनेछन् ।

पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्कालगायतले विधागत छलफल सत्रमा भाग लिनेछन् । फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया